एमाले र निर्वाचन अधिकृत बरालले कीर्ते काण्ड गरे, कांग्रेससहितका दलले हर्कत पत्ता लगाए

कञ्चनरुप । एमालेले सप्तरीको कञ्चनरुप नगरपालिकाको उप–मेयर पदमा कीर्ते गरेको खुलासा भएको छ ।

एमालेको तर्फबाट असरादेवी चौधरीले उप–मेयरको पदमा मनोनयन दर्ता गराएकी थिइन् ।

निर्वाचनका कर्मचारीहरूले रातारात चौधरीको फाइल हटाएर अर्कैको नाम बाहिर ल्याएको स्थानीय दलहरूले आरोप लगाएका छन् ।

चौधरीको उम्मेदवारी समानुपातिक सूचीमा रहेको थियो । एमालेका नेताको दवावमा निर्वाचन अधिकृत हिमालय बरालले मध्यराति उम्मेदवार परिवर्तन गरेको आरोप छ ।

उप–मेयरमा नेपाली कांग्रेसकी मुना पोखरेल, माओवादी केन्द्रका बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राणा, जसपाकी कल्पना चौधरी, नेकपा (एकीकृत समाजवादी)की होमकुमारी पोखरेलले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गरेका छन् ।

उनीहरूले निर्वाचन अधिकृत बराललाई निवेदन दिएर सो कीर्ते नगर्न चेतावनी दिएका छन् ।

मध्यरातमा फाइल नै परिवर्तन गराई एमालेले कल्पना चौधरीको नाम उप–मेयरको उम्मेदवारको सूचीमा सार्वजनिक गरेको आरोप छ ।

निर्वाचन कार्यालयबाट भएको उक्त कार्यले निष्पक्ष निर्वाचन हुने कुरामा प्रश्नचिन्ह खडान भएको उनीहरूले निवेदनमा बताएका छन् ।

निवेदनमा निर्वाचन कार्यालयबाट भइरहेको यस्ता किसिमका गतिविधि अविलम्ब रोक्न, मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न, दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

मागको सुनुवाइ नभए निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन् ।

Published : Tuesday, 2022 April 26, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया