रेणु र चित्रसेनको पक्षमा ढल्कियो भरतपुर, प्रतिस्पर्धीहरू डराए

भरतपुर । नेपाली कांग्रेस र माओवादी केन्द्रले निकै चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर र उप–मेयरमा मनोनयन दर्ता गराएका छन् ।

सोमबार निर्वाचन कार्यालयमा पुगेर माओवादीबाट रेणु दाहालले मेयरमा मनोनयन दर्ता गराएकी हुन् । उप–मेयरमा कांग्रेसको तर्फबाट चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धनले भरतपुरमा कब्जा गर्ने तयारी गरेको छ । माओवादीले मेयर मात्रै लिएको छ । कांग्रेसले उप–मेयर र सबै वडाध्यक्षहरूमा उम्मेदवारी दिएको छ ।

सोमबारदेखि भरतपुर महानगरमा मेयरकी उम्मेदवार रेणु र उप–मेयरका उम्मेदवार अधिकारीको पक्षमा देखिएको नेताहरूको भनाइ छ ।

यसैबीच, चितवन कांग्रेसका सभापति राजेश्वर खनालले बागी उम्मेदवारलाई कारबाही हुने चेतावनी दिएका छन् ।

उनले उम्मेदवारी दर्ता गराउने नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने बताएका छन् ।

उनले असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने बताए ।

रेणु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताएकी छिन् ।

उनले भनिन्, ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’
‘आम जननताको साथ र विश्वास मेरो जित्ने आधार हो’, उनले भनेकी छिन् ।

कांग्रेसको बागी उम्मेदवारबाट आफूलाई कुनै असर नपर्ने दाबी रेणुको छ । ‘दोस्रो पटक उम्मेदवारी दर्ता गर्दा म निकै खुसी छु’, उनले भनेकी छिन्, ‘मेरो जित सुनिश्चित छ ।’

रेणु अघिल्लो पटक पनि कांग्रेसकै समर्थनमा भरतपुरको मेयरमा विजयी भएकी थिइन् ।

यसपटक उनको मुख्य प्रतिस्पर्धा एमालेका विजय सुवेदीसँग हुँदैछ ।

मनोनयन दर्ता गराउने क्रममा कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, माओवादी केन्द्रका नेता मधु न्यौपाने, नेता नारायण दाहाल पनि निर्वाचन कार्यालय पुगेका थिए ।

Published : Monday, 2022 April 25, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया