माओवादीकै समूहले अग्निका भतिजाहरूलाई धुलाइ गरेर लखेटे, चौतारामा माओवादीभित्रै झडप

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा माओवादी केन्द्रभित्रको आन्तरिक झगडाले गर्दा दुई जना केन्द्रीय सदस्यहरूले रामधुलाई भेटेका छन् ।

सोमबार मनोनयन दर्ता गर्ने क्रममा माओवादीबाट चौतारा सागाचोक गढी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउने क्रममा मेयरका आकांक्षी अमानसिंह तामाङको समूहले माओवादीका दुई जना केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ र माधवप्रसाद सापकोटा ‘सुवोध’सहितका नेताहरूलाई कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटाइ खाने कृष्ण र माधव माओवादीका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाका भतिजाहरू हुन् ।

अग्निप्रसाद सापकोटाले भतिजा कृष्णप्रसाद सापकोटालाई मेयर बनाउन टिकट दिएपछि अमानसिंहको समूहले आक्रमण गरेको हो । अमानसिंहले यसअघि यो नगरपालिकामा माओवादीबाट मेयरमा जितेका थिए ।

यस पटक अग्निप्रसाद सापकोटाले अमानसिंहको टिकट काटेर भतिजा कृष्णप्रसादलाई दिएपछि अमानसिंहले एमाले, कांग्रेस वा अन्य दलबाट टिकटका लागि प्रयास गरेका थिए ।

कसैले पनि टिकट नदिएपछि अमानसिंहले स्वतन्त्रबाट उम्मेदवारी दिन थालेका थिए । माओवादीले टिकट काटिदिएको झोँकमा अमानसिंह र उनको समूहले माओवादीका केन्द्रीय सदस्य र माओवादीका नेताहरूलाई चौताराबाट लखेटेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । माओवादी र अमानसिंहको समूहबीच झडप भएपछि नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ ।

झडपका कारण स्थिति बिग्रिएपछि नेपाली कांग्रेसले मनोनयन दर्ता गराउन सकेको छैन । कांग्रेसका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर मनोनयन दर्ताका लागि आग्रह गरेका छन् । सीडीओले मनोनयन दर्ताका लागि व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

Published : Monday, 2022 April 25, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया