ललितपुरमा कांग्रेसको टिकटको पत्रबिनै मनोनयन दर्ता गर्न हिँडे चिरिबाबु

ललितपुर । नेपाली कांग्रेस ललितपुरले ललितपुर महानगरपालिकाको टिकटका विषयमा गम्भीर छलफल गरिरहेका बेला चिरिबाबु महर्जन दलबलसहित मनोनयन दर्ता हिँडेका छन् ।

चिरिबाबुले दुई बजेसम्म टिकट पाएका छैनन् । टिकटका लागि ललितपुरमा विवाद छ ।

चन्द्र महर्जन र प्रेमकृष्ण महर्जनले पनि मेयरमा दाबी गरेका छन् । यी तीन नेतामध्ये टिकट पाउने सम्भावना प्रेमकृष्ण महर्जनको रहेको एक नेताले बताएका छन् ।

चिरिबाबलाई मेयरको टिकट दिँदा कांग्रेस पराजित हुनेभन्दै विरोध भएको छ ।

सभापति शेरबहादुर देउवाले ललितपुर महानगरपालिकाको टिकट हस्ताक्षर गरेर पार्टी सभापति जितेन्द्रकुमार श्रेष्ठलाई दिएका छन् । स्रोतले भन्यो, ‘सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर टिकटको पत्र सभापति जितकुमार श्रेष्ठलाई दिनुभएको छ । सभापति देउवाले फोन गरेर जसको नाम भर्न भन्नु हुन्छ त्यसमै भरेर दिने हो ।’

ललितपुर कांग्रेसका सभापति श्रेष्ठ सभापति एवम् प्रधानमन्त्री देउवाको फोन कुरेर बसेका छन् । सभापति श्रेष्ठले दुई बजेसम्म कसैलाई पनि ललितपुरको मेयरको टिकट नदिएको बताए ।

चिरिबाबुलाई टिकट दिलाउन दुई धनाढ्या विनोद चौधरी र उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्य मदनबहादुर अमात्य लागेका छन् ।

चिरिबाबुलाई नदिएर अर्को उम्मेदवार बनाउन सभापति श्रेष्ठका साथै केन्द्रीय सदस्य उदयशम्शेर राणा र जितजंग बस्नेतसहितको बहुमत नेताहरू रहेका छन् ।

Published : Monday, 2022 April 25, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया