महानगरको टिकट बाँड्ने अधिकार देउवाले पाए, संसदीय समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गर्ने निर्णय गरेको छ ।

आइतबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संसदीय समिति बनाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

समितिमा पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्य रहेका छन् ।

महानगरको टिकट बाँड्ने अधिकार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदान गरिएको छ । देउवाले महानगरहरूको मेयर र उप–मेयरको टिकट दिनेछन् ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू पदेन रहनेछन्’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय भएको छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यही २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी विधानको व्यवस्था बमोजिम सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको रायसहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उप–प्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५४ बमोजिम पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानको धारा ३१ (२) बमोजिम अनुमोदन गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2022 April 24, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया