अडिट आउनुभन्दा अगाडिनै विमानस्थलको बत्तीहरू उखेलेर गायब, करोडौंको नोक्सान, आलेले के गर्छन् ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करीव २० महिना अगाडि जडान गरिएको स्ट्रिट लाईट (सडक बत्ती)हरू उखेलेर फालिएको छ ।

विमानस्थलका ईञ्जिनियर श्रवण यादवले दिएको सुझाव र रिपोर्टका आधारमा स्ट्रिट लाईट जडान गरिएको एक कर्मचारीले बताएका छन् ।

सेफ्टी अडिटले थाहा पाउँछ भनेर ती सडक बत्ती पहिला नै उखेलेर फालिएको छ । कमिशनको चक्करमा कर्मचारीहरूले नियम विपरीत स्ट्रिट लाईटहरू जडान गर्ने कार्य गरेको आरोप छ ।

विमानस्थलको रनवेको नजिकै रहेको सडकमा यादवले स्ट्रिट लाईट जडान गरेका थिए । त्यो सडकमा स्ट्रिट लाईट आवश्यक थिएन । सुरक्षाका कारण पनि स्ट्रिट लाईट राख्न पाइँदैन । यो जान्दाजान्दै राज्यको करोडौं रुपियाँ नोक्सान हुने गरेर काम गर्ने जिम्मेवार कर्मचारीलाई कारबाहीको माग उठेको छ ।

विमानलाई उडान र अवतरण गर्दा समस्या हुनेभन्दै स्ट्रिट लाईट जडान गर्ने बेला नै विरोध भएको थियो । तर, अटेर गरेर स्ट्रिट लाईटहरू जडान गरेर छाडिएको थियो ।

विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिन अहिले आईकाओबाट सेफ्टी अडिट आएको छ ।

युरोपबाट आईकाओको सेफ्टी अडिट आउने थाहा पाएपछि ती स्ट्रिट लाईटहरू उखेलेर राखिएका छन् । सेफ्टी अडिटले देखेको भए विमानस्थलको व्यवस्थापनको सातो लिने थियो । सेफ्टी अडिटले थाहा नपाओस् भनेर अडिट आउनुभन्दा अगाडि नै उखेलेर लुकाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले स्ट्रिट लाईटहरूलाई उखेलेर राखिएको जानकारी दिए । उनले ती स्ट्रिट लाईटहरूलाई अर्को स्थानमा जडान गरिने बताएका छन् ।

ती लाईटहरू उखेल्न र जडान गर्न अर्को खर्च लाग्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रमेबहादुर आले र नेपाल उड्डयन प्राधिवकरणका महानिर्देशक प्रदीप अधिकारी छन् । उनीहरूले स्ट्रिट लाईटमा देखिएको लापरवाहीका दोषी कर्मचारीलाई कारबाही गर्छन् वा गर्दैनन् हेर्न बाँकी छ ।

Published : Sunday, 2022 April 24, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया