सिन्धुपाल्चोकमा कांग्रेसको लचकतालाई माओवादी–समाजवादीले कमजोरी ठान्यो, औकातभन्दा ठूलो भाग मागेपछि तनाब

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेससँगको वार्तामा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले हैसियतभन्दा धेरै भाग मागेपछि सहमति हुने सम्भावना निकै कम देखिएको छ ।

तैपनि सिन्धुपाल्चोक कांग्रेसले शनिबार माओवादी र समाजवादीसँग वार्ता गरेर अत्याधिक लचकता देखाउने तयारी गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पनि सिन्धुपाल्चोकमा केन्द्रको निर्णय र निर्देशनलाई आत्मसात गरेर माओवादी र समाजवादीलाई अगाडि बढाउन खोजेका छन् ।

‘गठबन्धनसँग चुनावी तालमेल गरेर जाने तर, स्थानीय निकायले निर्णय गर्न पाउने भन्ने केन्द्रीय कार्यसमितिको निर्णय हो’, नेता बस्नेतले शनिबार बिहान एउटा एफएम रेडियोसँगको अन्तर्वार्ताका क्रममा भने, ‘त्योअनुसार पनि सिन्धुपाल्चोक जिल्लामा गठबन्धन दलहरूसँग धेरै पटक सल्लाह भयो । माओवादी र समाजवादीसँग आफ्नो जिल्लामा भएको हैसियतभन्दा बढी सिट उहाँहरूले माग्न थालेको कारणले यो वार्ता अहिले अबरुद्ध भएको छ । तर, वार्ता चलिरहेको छ । वार्ता निर्णयमा पुग्न सकेको छैन ।’

‘छलफल चलिरहेको छ । आज कुरा मिल्यो भने मिल्यो । मिलेन भने नेपाली कांग्रेसले कसैसँग गठबन्धन गर्दैन’, नेता बस्नेतले भने, ‘मित्रवत प्रतिस्पर्धा भन्ने कांग्रेसको निर्देशन पनि छ । हामी एकल चुनाव लड्छौँ ।’

‘हामी एक्लै चुनाव लड्दा पनि ठूलो पार्टी बन्छौँ । माओवादीको प्रभाव छ कि छैन भन्ने कुरा चुनाव आएपछि देखिहाल्छ नि’, उनले भनेका छन् ।

‘हाम्रा साथीभाईको आकांक्षा विपरित हामी जान सक्दैनौँ, सिधै भन्नु हुन्छ भने १२ पालिकामध्ये ११ पालिकाले लेखेर जिल्ला कार्यसमितिलाई एकल रुपमा चुनाव लड्न पाउनुपर्छ भनेर निवेदन दिनुभएको छ । यो कुरालाई एक ठाउँमा राखेर हामी तालमेलमा जान कुरा गर्‍यौँ’, बस्नेतले भनेका छन् ।

‘माओवादी र समाजवादीले आधा आधा सिट चाहिन्छ भनेका कारण वार्ता टुंगिन सकेको छैन । अहिले कांग्रेसको हातमा चार वटा पालिका छ’, उनले भने, ‘माओवादीको हातमा दुई वटा पालिका छ । २ ले चार लिने, चार लिएकाले ८ लिन्छौँ भनेका हौँ । त्यो कुरा मान्नुभएन ।’

‘माओवादीले ४ वटा दिन्छौँ भनेका छौँ । आजबाट आफ्नो तरिकाले टिकट वितरणको तयारी गरेका छौँ’, कांग्रेस नेता बस्नेतले भने, ‘१२ मा ४ माओवादीलाई र ८ हामीलाई त्यसमा मेयर र उप–मेयर र अरु पनि छ । आफ्नो जिल्लामा भएको खास पोजिशन के हो त्योभन्दा धेरै माग्न थालेपछि के गर्ने ?’

उनले भने, ‘माओवादी र समाजवादीले हामीसँग कुरा गर्नुभन्दा पहिला एमालेसँग कुरा गरिसक्नुभएको रहेछ । यो कुरा मिटिङमा भन्नुभएको छ ।’

‘उहाँहरूले पहिलो प्राथमिकता एमालेलाई दिनुभएको छ । एमालेसँग हामीलाई भने जस्तो ६ वटा पालिका माओवादीले माग्नुभए छ’, बस्नेतले भने, ‘त्यो कुरा एमालेले पनि स्वीकार गरेन । त्यसपछि माओवादीले कांग्रेससँग वार्ता गर्नुभयो ।’

आइतबार र सोमबार पालिकाहरूमा मनोनयन दर्ता हुने कार्यक्रम छ । कांग्रेस लचक हुँदाहुँदै पनि सिन्धुपाल्चोकमा माओवादी र समाजवादीले धेरै भाग खोजेपछि तालमेलमा संकट पर्ने सम्भावना देखिएको छ ।

कम्युनिस्टहरूको अराजकता, भ्रष्टाचार र लुटका कारण सिन्धुपाल्चोकमा कांग्रेसले राम्रो संगठन बनाएको छ । एक्लै चुनाव लड्दा पनि कांग्रेसले कम्युनिस्टहरूलाई डिलमा पु¥याउने तयारी गरेको छ ।

Published : Saturday, 2022 April 23, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया