वीरेन्द्रनगरको मेयरमा कांग्रेसद्वारा ३ जनाको नाम सिफारिस, बाठो बनेर क्षेत्रले अरु ४ को नाम थप्यो

वीरेन्द्रनगर । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मेयरका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार वीरेन्द्रनगर कार्यसमितिबाट मेयरमा सिफारिस हुनेहरूमा पार्टीका जिल्ला सह–सचिव हरि विष्ट, नगर सभापति उपेन्द्र खड्का र चाँदनी ढकाल रहेका छन् ।

नगर कार्यसमितिको बैठकले पार्टीको विधान बमोजिम दुई पुरुष र एक महिलासहित तीन जनालाई उम्मेदवारका लागि जिल्ला कार्यसमितिलाई नाम सिफारिस गरेको छ ।

नगर कार्यसमितिले मेयरमा तीन जनाको नाम सिफारिस गरे पनि प्रदेशसभा निर्वाचन क्षेत्रको कार्यसमितिले धेरै बाठो भएर मेयरमा थप चार जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रले रायसहित चार जनाको नाम थपेको हो । थपिएका नामबारे विवाद छ ।

प्रदेश निर्वाचन क्षेत्रले मेयरमा गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भुपेन्द्र खत्रीको नाम सिफारिस गरेको छ ।

कांग्रेसको विधानको धारा ३२ (३) (ख) मा नगर कार्य समितिले पठाएको नाममा प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले राय सुझावसहित जिल्ला कार्य समितिमा नाम पठाउने उल्लेख छ ।

ती नामलाई जिल्ला कार्य समितिले निर्णयको लागि प्रदेश कार्य समितिमा पठाउनेछ ।

नगर कार्यसमितिका सचिव रमेश सापकोटाले रायसहित पठाइएको नामअनुसार आवश्यक निर्णय हुने बताएका छन् ।

Published : Friday, 2022 April 22, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया