कांग्रेसका उम्मेदवारहरू जिताउन यस्तो बन्यो रणनीति, समितिको कार्यदेश अनुमोदन

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ लाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

उप–सभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिको शुक्रबार पार्टी कार्यालय ललितपुरमा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकार समेत तोकी उप–समितिहरू गठन गर्ने निर्णय गरेको समितिका सदस्य एवम् केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।

समितिले भ्रातृ संघ समन्वय एवम् परिचालन उप–समिति, शुभेच्छुक संस्था समन्वय एवम् परिचालन उप–समिति, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उप–समिति, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन उप–समिति, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उप–समिति, निर्वाचन सुरक्षा निकाय समन्वय उप–समिति, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उप–समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवम् समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजकले उप–समितिका संयोजक मनोनयन गर्ने र उप–समितिका संयोजकको परामर्शमा परिचालन समितिका संयोजकले उप–समिति गठन गर्ने निर्णय पनि भएको छ ।

स्थानीय तह निर्वाचनका लागि ७ वटा प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकार समेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको चौधरीले बताए ।

प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश पनि समितिले दिएको छ ।

स्थानीय तह निर्वाचनको चुनावी सभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन ‘चुनावी सभा व्यवस्थापन मापदण्ड’लाई अनुमोदन गर्ने निर्णय पनि भएको छ ।

पार्टी आवद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका अन्य दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय भएको छ ।

बैठकमा समितिका सदस्यहरू श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी रानाले धारणा राखेका थिए ।

Published : Friday, 2022 April 15, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया