सलमानका भाईले पनि प्रेम आलेको हैसियत देखाइदिए, साँढे मन्त्रीले पदको इज्जत फाले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भारतीय अभिनेता सलमान खानका भाई सोहिल खानले पनि हल्का रुपमा लिएर सामान्य इज्जत पनि दिएका छैनन् ।

एउटा होटेलमा भेट्न पुगेका आलेलाई सोहिलले प्रशंसकलाई जस्तो व्यवहार गरेर पठाइदिएका छन् । मन्त्री जस्तो व्यक्ति आफ्नो पदीय गरिमा भुलेर सोहिललाई भेट्न होटेलमा पुगेका थिए ।

होटेलमा मन्त्री जस्तो व्यक्तिसँग भेट्नेका क्रममा अभिनेता समेत रहेका सलमानका भाई सोहिलले चप्पल लगाएर बसेका छन् । त्यसमा पनि एउटा खुट्टा सोफामाथि खुम्चाएर राखेर बसेको तस्वीरमा देखिएको छ ।

मन्त्री आले भने अभिनेता सोहिलसँग दुइटा हातलाई बीचमा राखेर आज्ञाकारी प्रशंसकले जस्तो गरेर नजिकै एउटै सोफामा बसेका छन् ।

यसअघि एक महिना अगाडि सलमानले पनि मन्त्री आलेसँग भिडियोमा कुरा गर्दा अपमान हुने गरेर सामान्य कपडामा देखिएका थिए ।

सलमानसँग कुरा गर्न मन्त्री आलेले सलमानलाई कुरेर बसेका थिए । मन्त्री आलेभन्दा धेरै ढिला अभिनेता सलमान भिडियो कुराकानी आएका थिए ।

मन्त्री जस्तो व्यक्ति भारतीय कलाकारलाई भेट्न होटेलमा जाने, भिडियोमा कुरा गर्ने, करोडौं पैसा पारिश्रमिक लगेर नेपाल आउन लागेका सलमानलाई सरकारी पैसामा प्लेनमा हिमाल घुमाउन लैजान्छु भन्ने जस्ता हल्का काम कुरा गरेर मन्त्री आले आलोचित बनेका छन् ।

सलमानलाई करोडौं रुपियाँ तिरेर एउटा ओडिसी नामक संस्थाले काठमडौंमा ल्याउँदैछ । यो संस्थाले विगतमा पनि सलमानलाई ल्याउने भनेर टिकट बेचेर सलमानलाई ल्याएको थिएन ।

यो संस्थाविरुद्ध ठगीको अरोपमा उजुरी परेपछि संस्थाका प्रमुखलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ समेत गरेको थियो ।

यस पटक पनि महँगोमा टिकट बेचेर यो संस्थाले सलमानलाई ल्याउँछ कि ल्याउँदैन हेर्न बाँकी छ ।

मन्त्री आलेले सलमानको कार्यक्रमलाई लाखौँ रुपियाँ दिन लागेको खुलासा पनि भएको छ । विवादित संस्थासँग मिलेर आलेले गरेको हर्कतको हिसाब किताब कर तिरेका जनताले माग्नेछन् ।

नेपाली कला र संस्कृति तथा कलाकारहरूको लागि काम गर्नुपर्ने मन्त्री आले भने भारतीय कलाकार ल्याउन दिनरात दौडधुपमा लागेका छन् ।

नेपालविरुद्ध बेलाबेला हर्कत गर्दै आएका सलमान गतिला अभिनेता होइनन् । सलमान भारतमै जेल बसेका छन् । रक्सी पिएर ड्राइभ गर्दा सडकमा सुतेका सर्वसाधारलाई मारेका थिए । कालो हिरण मारेको अभियोगमा अहिले पनि मुद्धा खेपीरहेका छन् ।

यस्ता विवादित अभिनेता सलमानको कार्यक्रमलाई ओडिसी नामक संस्थाले महँगोमा टिकट बेच्ने तयारी गरेको छ । त्यो तयारीलाई मन्त्री आलेले साथ दिएका छन् ।

सलमानको कार्यक्रमका लागि ५ हजारदेखि ३० हजारसम्मको टिकट राखिएका छन् । सलमानलाई हेर्न यति धेरै पैसा तिर्न दर्शक तयार छन् वा छैनन् जेठ १४ गते दशरथ रंगशालामा थाहा हुनेछ । आयोजकले कार्यक्रमका लागि २२ करोड खर्च हुने अनुमान गरेको छ ।

आफ्नो मन्त्रालयका कर्मचारीहरूको अपमान गर्ने, साँढे भनेर धम्की दिने, व्यापारीलाई त्रसाउने, व्यापार बन्द गरिदिने जस्ता हर्कत गरेर आतंकित बनाएका आलेले भारतीय कलाकार ल्याउन गरेको यो हदसम्मको व्यवहारले उनको असलीयत बाहिर आएको छ ।

Published : Friday, 2022 April 15, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया