विप्लवको पार्टीमा होटेल अन्नपूर्णको ५ करोड र चीनको पैसाले बबाल, भ्रष्ट कम्युनिस्टहरूद्वारा आफै भण्डाफोर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पाँच करोड काण्डको विवादमा परेका छन् ।

ओलीलाई नेकपाको १२औँ केन्द्रीय समिति बैठकले दरबारमार्गमा रहेको होटल अन्नपूर्णबाट लिएको पाँच करोड रुपियाँ पार्टीलाई बुझाउन चैत ३० गतेको अल्टिमेटम दिएको थियो ।

उक्त समयसीमाभित्र रकम बुझाउन नसकेपछि रकम पचाउन ओली बिहीबार प्रचण्डलाई भेट्न खुमल्टार पुगेको आरोप छ ।

नेकपाभित्र आर्थिक हिनामिनाको आरोप लागेपछि पार्टी परित्याग गर्ने गरेको कम्युनिस्टहरूभित्र परम्परा नै छ ।

पार्टी छोड्दा छानविन नहुने भएपछि ओली पनि माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ।

नेकपाका महासचिव विप्लवले यसपटक त्यसरी कोही पनि उम्किन नपाउने चेतावनी दिएका छन् ।

प्रचण्डसँगको भेटमा पार्टी एकताका विषयमा छलफल भएको थियो ।

ओली र बास्तोलाले आफूहरू दुबै जनालाई पदाधिकारी बनाउन आग्रह गरेका छन् ।

ओलीका दुई वटा पत्नी छन् । छोरी र ज्वाइँको खर्च पनि ओलीले नै व्यवस्थापन गर्दै आएका छन् । नेकपाले ओलीकी कान्छी पत्नी अम्विका, छोरी ज्वाइँ झनक सुवेदी र उनलाई न्यनतम तलब दिएर व्यवस्थापन गरेको छ ।

अम्बिका र झनक विप्लवको पार्टीको मुखपत्र रातो खबरका जागिरे हुन् । ओली नेकपाको होलटायमर हुन् ।

नेकपाले ओली र उनको परिवारलाई महिनामा ९० हजार रुपियाँसम्म खर्च गरेको नेकपा निकटका पत्रकारहरूद्वारा पठाइएको समाचारमा उल्लेख छ ।

विप्लव समूहले ओलीलाई पाँच करोड काण्डमा कारबाही गर्ने भएपछि नेकपा फुट्न लागेको छ । ओलीलाई बास्तोलासहितका ठूला नेताहरूले साथ दिएका छन् ।

नेता ओलीले आफ्ना सहयोगी केदार खतिवडामार्फत होटेल अन्नपूर्णबाट पैसा ल्याएको विप्लवको पार्टीका पत्रकारहरूको भनाइ छ ।

उक्त ५ करोड पैसा पार्टीको केन्द्रीय आर्थिक विभागमा नपुगेपछि नेकपाले सोधीखोजी गरेको छ ।

केन्द्रीय समिति बैठकमा ५ करोड चन्दाको पैसाका विषयमा कुरा उठेपछि ओलीले आफ्ना सहयोगीले पैसा लिएको र अहिले उनी आफूसँग नभएको जवाफ दिएका थिए ।

खतिवडा केही समयअघि महोन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रवेश गरेका छन् ।

नेता बास्तोलाले पनि विभिन्न कार्यक्रम, सेमिनार, अध्ययन अनुसन्धान गर्नेभन्दै चीनबाट पैसा ल्याएको विप्लव निकटका पत्रकारहरूद्वारा मेलमा पठाइएको समाचारमा उल्लेख छ । उक्त पैसा कति थियो खुलाइएको छैन ।

बास्तोलाले पनि त्यही पैसा पचाउन ओलीको पछि लागेको आरोप छ ।

Published : Friday, 2022 April 15, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया