कांग्रेसको सरकारलाई अमेरिकाले डलरको खोलो बगाइदियो, अनुदानमा एमसीसीभन्दा ठूलो रकम दियो

काठमाडौं । अमेरिकाले दिएको नेपाली रुपियाँ झण्डै ८० अर्ब अनुदान सहयोग प्राप्तिका लागि स्वीकृति प्रदान गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले यूएसएआइडीबाट नेपालका लागि प्राप्त हुने ६५९ मिलियन डलर अनुदान सहयोग लिने निर्णय भएको जानकारी दिए । यो सहयोग नेपाली रुपियाँमा ७९ अर्ब ७१ करोड हुन आउँछ ।

यसअघिको बहुचर्चित अमेरिकी अनुदान परियोजना एमसीसीको भन्दा ठूलो हो ।

एमसीसीले नेपाललाई विद्युत् र सडक परियोजनाका लागि ५०० मिलियन अमेरिकी डलर अनुदान दिनेछ ।

यूएसएआइडीले त्योभन्दा १५९ मिलियन डलर बढी अनुदान दिनेछ ।

‘अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको छ’, मन्त्री कार्कीले भने ।

सरकारले थप १५० मिलियन अमेरिकी डलर ऋण सहायतासमेत स्वीकार गरेको छ ।

मन्त्री कार्कीका अनुसार बैठकले विश्व बैंकसहितका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपियाँ करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले सिरहाको कर्जन्हा नगरपालिकालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

Published : Friday, 2022 April 15, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया