कांग्रेस सरकारविरुद्ध हर्कत गरेर गोप्य सूचना चुहाएका एमाले समर्थक गभर्नर अधिकारीको ओलीद्वारा बचाउ

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नो सरकारका पालामा नियुक्त गरिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेका छन् ।

बिहीबार नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै ओलीले विज्ञप्ति जारी गरेर गभर्नर अधिकारीमाथि सरकारले गैरकानूनी हिसावले कारबाही गरेको बताएका हुन् । अधिकारी एमाले समर्थक हुन् ।

ओलीले अर्थमन्त्री जनार्दन शर्माको दवावमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारलाई असहयोग गरेको आरोप खेप्दै आएका गभर्नर अधिकारीलाई सरकारले केही दिन अगाडि हटाएको थियो । अधिकारीले गोप्य सूचनाहरू चुहाएर सरकारको बद्नाम गरेको आरोप छ ।

अधिकारीले कांग्रेस, माओवादीलगायतका दलहरूविरुद्ध पदीय आचरण विपरित हर्कत गरेर एमालेलाई सहयोग गरेको आरोप पनि छ ।

‘अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको टेकोमा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन्’, ओलीले भनेका छन्, ‘सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कारबाही रहेको छ ।’

‘सेटिङ्–सिद्धान्तमा विश्वास गर्ने गठबन्धन सरकार विज्ञहरूको सुझाव र प्रतिपक्षी दलको खबरदारीलाई मनन गर्नुको साटो प्रतिवादमा उत्रिएको छ’, उनले भनेका छन्, ‘तथ्याङ्कलाई तोडमोड गरी अर्थतन्त्र दुरुस्त छभन्ने झुठा सूचना प्रवाह गरिरहेको छ ।’

‘अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा पुगेको छ’, ओलीले भनेका छन्, ‘गठबन्धन सरकार भूमाफिया, काला व्यापारी र तस्करहरूको चंगुल र कमिसनतन्त्रको जालोमा फसेको छ ।’

‘सरकारकै संरक्षणमा हुण्डी फस्टाएको छ’, ओलीले भनेका छन्, ‘सरकारले साख गुमाएको छ । विकास साझेदारको विश्वास गुम्दैछ ।’

‘सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ’, ओलीले भनेका छन्, ‘निजी क्षेत्र यो सरकारवाट निराश छ ।’

Published : Thursday, 2022 April 14, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया