सभापति देउवाले दिएको जिम्मेवारी गगन थापाले समयमा पूरा गरे

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गरेको छ ।

बुधबार ललितपुरमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्री गगनकुमार थापाको समितिद्वारा तयार पारेको घोषणा पत्रको मस्यौदालाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।

महामन्त्री थापाले घोषणा पत्रको मस्यौदालाई पेश गरेका थिए ।

केन्द्रीय सदस्यहरूको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नु भएको “नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र” को प्रारम्भिक मस्यौदा उपर आजको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्यहरू समेतबाट २०७९ वैशाख २ गते भित्र प्राप्त हुने सुझावलाई समाविष्ट गरी स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समितिले अन्तिम रुप दिने गरी पारित गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकमा उप–सभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वारा गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादवले धारणा राखेका थिए ।

केन्द्रीय सदस्य विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्का, जीपछिरिङ लामा र एनपी साउँदले पनि आ–आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको संयोजकत्वमा स्थानीय तह घोषणा पत्रको मस्यौदा तयार पार्न जिम्मेवारी दिएका थिए ।

देउवाले दिएको जिम्मेवारीलाई थापाले समयभित्र पूरा गरेका छन् । सभापति देउवाले थापालाई धन्यावाद समेत दिएका छन् ।

Published : Wednesday, 2022 April 13, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया