भूमाफियाद्वारा काठमाडौंमा जग्गा कब्जा, माफियालाई कारबाही गर्ने देउवाको संकेत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खाली जग्गा भूमाफियाहरूको कब्जामा रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले काठमाडौंका खाली ठाउँहरूमा भूमाफियाहरूले आफ्नो नाममा लिने काम भइरहेको बताए । उनले भूमाफियाबाट सचेत भएर काम गर्नुपर्ने बताएका छन् ।

देउवाले भूमाफियालाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने बताए ।

‘भूमाफियाहरूले जथाभावी ठाउँ–ठाउँमा जग्गा हडप्दै गएका छन्’, उनले भने, ‘जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

देउवाले काठमडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहको बताएका छन् ।

‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ’, देउवाले भने, ‘व्यवस्थापन भएको छैन । फोहोर थुप्रिएको छ ।’

‘फोहोर व्यवस्थापन गर्न जरुरी छ । ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ’, उनले भने, ‘मैले आफैँले देखेर आएको छु धरानमा । फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ ।’

‘विदेशी राजदूतहरूले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन्’, उनले भनेका छन् ।

Published : Tuesday, 2022 April 12, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया