ओली–भण्डारीको दुईतिहाईको अहँकारका सामु मोहन बस्नेतले बोलेको कुरा देउवा-चौधरीले पूरा गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किशुनजी’द्वारा सुरुवात गरिएको मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार काठमाडौंको सुन्दरीजलमा किशुनजीको सालिक अनावरणसँगै मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् ।

खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको जानकारी दिए । उनले चैत २९ गते मंगलबार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको मन्त्री चौधरीले बताएका छन् ।

मेलम्ची खानेपानी आयोजना काठमाडौं ल्याउने परिकल्पना तथा घोषणा पूर्वप्रधानमन्त्री भट्टराईले गरेका थिए ।

उपत्यकावासीलाई भविष्यमा पानीको अभाव नहोस् भन्दै स्वर्गीय भट्टराईले २०५१ सालको संसदीय निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने उल्लेख गरेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले शुन्दरीजलस्थित प्रशोधन केन्द्र परिसरमा स्वर्गीय भट्टराईको सालिक स्थापना गर्नेछ ।

सन २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना गएको असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

प्रधानमन्त्री देउवाले क्षतिग्रस्त आयोजना सफाइ तथा मर्मत चैत मसान्तभित्र मेलम्ची खानेपानी सञ्चालन गर्न खानेपानीमन्त्री चौधरीलाई निर्देशन दिएका थिए ।

तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली र कम्युनिस्ट पृष्टभूमिकी राष्ट्रपति विद्यादेवी भण्डारीले अपुरो मेलम्ची खानेपानी आयोजना उद्घाटन गरेका थिए ।

ओली र भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने बेला मेलम्ची खानेपानी आयोजनाका जन्मतादाता किशुनजीको एक पटक पनि नाम लिएका थिएनन् ।

त्यस बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आपत्ति जनाउँदै कांग्रेसको सरकार आयो भने मेलम्ची खानेपानी आयोजनामा किशुनजीको सालिक निर्माण गर्ने घोषणा गरेका थिए ।

नभन्दै कम्युनिस्टहरूको दुईतिहाईको अहँकार साढे तीन वर्षमा ढल्यो । कांग्रेस नेतृत्वको सरकार बन्यो । कांग्रेस नेता बस्नेतले बोलेको बचन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र खानेपानीमन्त्री चौधरीले पूरा गरेका छन् ।

Published : Saturday, 2022 April 9, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया