चितवन कांग्रेसको कुरा देउवालाई मन पर्‍यो, देउवा र चितवनका नेताहरू खुसी हुँदै बाहिरिए

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन कांग्रेसका साथीहरूको भावना विपरित आफूले कुनै पनि निर्णय नगर्ने आश्वासन दिएका छन् ।

शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा चितवन कांग्रेसका नेताहरूसँगको भेटमा देउवाले पार्टीका साथीहरूको भावना विपरित नजाने बताएको पूर्व सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । भरतपुर महानगरपालिकाको मेयरका विषयमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्ने बताएको छन् ।

‘तपाईहरूको भावना विपरित जाने छैन’, सभापति देउवाको भनाइ उदृत गर्दै चितवनका पूर्वपार्टी सभापति श्रेष्ठले भने, ‘सभापति शेरबहादुर देउवाज्यूले भरतपुर महानगरपालिकाको मेयरका विषयमा प्रचण्डसँग कुरा गर्छु भन्नुभएको छ ।’

पूर्वसभापति श्रेष्ठले भने, ‘यस पटक मेयरमा रेणु दाहालले हार्नु हुन्छ भन्यौं । रेणु दाहाल हार्नु भनेको प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन तोडिन्छ । बरु अहिले नै मेयरमा कांग्रेसलाई उठाएर गठबन्धन गरेर जाँदा राम्रो हुन्छ भनेर सुझाव दिएका छौँ ।’

चितवन कांग्रेसका नेताहरूले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म गठबन्धन बनाएर जाने हो भने भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने अन्यथा स्थानीय तहको निर्वाचनपछि टुट्ने बताएका थिए । रेणुले हार्नेवित्तिकै प्रचण्डले गठबन्धन तोड्न चितवन कांग्रेसको भनाइ छ ।

सभापति देउवालाई भेट्न केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ, सभापति राजेश्वर खनाल, पूर्वसांसद जगन्नथ पौडेल, पूर्वसांसद गीता वाग्लेसहितका नेताहरू बालुवाटार पुगेका थिए ।

सभापति देउवासँगको भेटमा उप–सभापति पूर्णबहादुर खड्का पनि सहभागी रहेका थिए ।

यसअघि, चितवन कांग्रेसका नेताहरूले उप–सभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतसँग भेट गरेर भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन गरेर माओवादीलाई नदिन आग्रह गरेका थिए ।

भरतपुर महानगरको मेयरमा यस पटक रेणु दाहाल पराजित हुने पक्का जस्तै छ । कांग्रेसले रेणुलाई भोट दिने पक्षमा छैनन् ।

मेयरमा कांग्रेसलाई सहयोग गरेर रेणुलाई प्रदेश सांसद बनाउँदा उचित हुने भनेर टिप्पणी हुने गरेका छन् ।

Published : Friday, 2022 April 8, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया