देउवाले कार्यकर्तालाई काठमाडौंमा विशेष सम्बोधन गर्ने, ओलीले कांग्रेसको जवाफ भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

सभापति देउवाले चैत २६ गते शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा दिउँसो १ बजे हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौं कांग्रेसका सभापति कृष्णसबुज बानियाँले जानकारी दिए ।

सभापति देउवाले विशेष सम्बोधन गर्ने भएपछि काठमाडौं कांग्रेसले धमाधम तयारी गरेको छ । कांग्रेसले काठमाडौंमा यस पटक पूरै कब्जाको तयारी गरेको छ ।

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत काठमाडौं कांग्रेसले शनिबार विशेष कार्यक्रम राखेको छ । काठमाडौंमा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत प्रतिनिधिका रुपमा खटिएका छन् ।

आउँदै गरेको स्थानीय तहको निर्वाचन, गठबन्धन र कांग्रेसको तयारीका विषयमा सभापति एवम् प्रधानमन्त्री देउवाले विशेष निर्देशन दिने कार्यक्रम रहेको केन्द्रीय सदस्य बस्नेतले बताए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पछिल्लो समय कांग्रेसमाथि हमला थालेका छन् । ओलीको हमलाको पनि देउवाले जवाफ दिन सक्ने बताइएको छ ।

देउवा धेरै बोल्दैनन् । थोरै बोल्छन् । तर, कम्युनिस्टलाई पुग्ने गरेर देउवाले अभिव्यक्ति दिने गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई शक्तिशाली पार्टी बनाउने अभियानमा देउवा लागेका छन् । उनको अभियानलाई कांग्रेसका शेखर कोइराला बाहेकका सबै नेताहरूले साथ दिएका छन् ।

शेखर कोइरालाले गठबन्धनको विरोध गरेर आफ्ना समर्थकलाई उत्तेजित बनाउँदै आएका छन् ।

Published : Thursday, 2022 April 7, 8:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया