पूर्वगुण्डा नाइके एवम् हालका मन्त्रीले मान्छेलाई दनक दिए, पुरानै औकातमा उत्रिए

पोखरा । गुण्डा नाइकेको पृष्ठभूमिबाट राजनीतिमा छिरेर गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजिव गुरुङ उर्फ दीपक मनाङेले मान्छे कुटेर फेरि विवादमा परेका छन् ।

मंगलबार करीव ५ बजेतिर मनाङेले आफ्नै मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेका हुन् । मनाङेले फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका बेला हातपात गरेको स्रोतको भनाइ छ ।

मनाङेले कुटपिट गरेपछि शाखा अधिकृत ओझाले मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई जानकारी गराएका छन् ।

मन्त्री मनाङेले पदीय जिम्मेवारी भुलेर कुटपिट गरेपछि ओझा विदामा बसेका छन् ।

घटनाका विषयमा मन्त्री मनाङेले केही बोल्न चाहेनन् । उनले फोन पनि उठाएनन् । एसएमएसको जवाफ पनि दिएका छैनन् ।

मन्त्री मनाङेको कुटाइ खाएर घाइते बनेका शाखा अधिकृत ओझा पोखराको अस्पतालमा भर्ना भएका छन् ।

निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि ओझालाई काम सक्न मन्त्री मनाङेले निर्देशन दिने क्रममा विवाद भएर कुटपिट भएको स्रोतको भनाइ छ ।

घटनाका सम्बन्धमा कास्की प्रहरीका प्रहरी निरीक्षक दीपक केसीले कुटपिटको घटना भएको सञ्चार माध्यमबाट आफूहरूले पनि थाहा पाएको जानकारी दिए ।

उनले भने, ‘कुटपिटको घटना भएको विषयमा हामीलाई कुनै पनि जानकारी वा उजुरी आएको छैन । हामीले पनि सञ्चारमाध्यमबाट थाहा पाएका छौँ । के भएको रहेछ आन्तरिक अनुसन्धानमा छौँ ।’

मनाङेले मन्त्री हुनुभन्दा अगाडि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

काठमाडौंको ठमेलमा अपराध गरेको अभियोगमा पटक–पटक परेर थुनामा परेका मनाङेको बिगतको रेकर्ड गतिलो छैन ।

अपराधबाट संरक्षण पाउन राजनीतिमा प्रवेश गरेर एमालेको छत्रछायाँमा मनाङ जिल्लाबाट स्वतन्त्रमा निर्वाचत भएपछि मनाङेलाई एमालेले पहिलो पटक मन्त्री बनाएको थियो ।

Published : Wednesday, 2022 April 6, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया