भरतपुरको मेयर कांग्रेसले पाउने सम्भावना बढ्यो, रेणुलाई प्रदेश र प्रचण्डलाई प्रतिनिधि सभा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय भएसँगै चितवनको राजनीति र निर्वाचनलाई लिएर राष्ट्रिय राजनीति तात्तिएको छ ।

चितवन कांग्रेसले भरतपुर महानगरपालिकामा मेयरमा दाबी नछाड्ने घोषणा गरेपछि माओवादी केन्द्रलाई प्राविधिक संकट परेको छ ।

सभापति शेरबहादुर देउवाले निर्देशन दिए पनि स्थानीय तहमा कार्यकर्ताले भोट माओवादीलाई दिएनन् भने रेणु दाहालको पराजय हुने सम्भावना निकै छ । भरतपुरको राजनीति निकै बिथोलिएको छ ।

छोरी रेणुको राजनीति सुरक्षित बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा लगेर जिताएर बागमती प्रदेशको सरकारमा मन्त्री बनाउँदा नै उचित हुने चितवनबासीको सुझाव छ ।

गठबन्धन गरे पनि कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा ‘प्रचण्ड’की छोरी रेणु र स्वयं प्रचण्डलाई सहयोग गर्ने सम्भावना निकै कम छ । यस्तो अवस्थामा प्रचण्डलाई प्रतिनिधि सभामा जिताउने सहमतिमा भरतपुरको मेयर कांग्रेसले पाउने सम्भावना छ ।

रेणुलाई प्रदेशको निर्वाचनमा उम्मेदवार बनाउन सक्ने सम्भावना पनि छ । अहिलेसम्म माओवादीले भरतपुरमा मेयर छाडेको छैन ।

गठबन्धनका क्रममा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्ह ‘रुख’लाई बोकेर कांग्रेसका उम्मेदवार जिताउन प्रचार गर्नुपर्नेछ ।

प्रचण्डलाई जिताउन कांग्रेसले पनि साथ दिनेछ । भरतपुरको मेयरमा कांग्रेसको भोटले रेणुले जितेकी हुन् । माओवादीको भोटले मात्रै रेणुको पराजय निश्चित थियो ।

यस पटक स्थानीय तहको निर्वाचनमा कांग्रेसका मतदाताले केन्द्रबाट जति नै तालमेल वा गठबन्धन गरे पनि रेणलाई भोट दिने कुनै ग्यारेन्टी छैन । बरु माओवादीले भरतपुरमा मेयर छाडेर रेणुलाई प्रदेश सांसद र प्रचण्डलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएमा कांग्रेसले साथ दिएर जिताउन सक्ने सम्भावना हुन्छ ।

Published : Tuesday, 2022 April 5, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया