एमाले समर्थक ‘गुण्डा नाइके’को सरकारी पद फुत्कियो

विराटनगर । प्रदेश–१ सरकारले प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’लाई बर्खास्त गरेको छ ।

सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरूलाई प्रदेश सरकारले हटाएको हो । एमाले निकटका बस्नेत गुण्डा नाइकेका रुपमा परिचित छन् । उनी विभिन्न अपराधका अभियोगमा पक्राउ गरेर छुटेका हुन् । बस्नेतले सम्पत्ति शुद्धीकरणमा पनि मुद्धा खेपेका थिए । पछि सफाइ पाएका हुन् ।

चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि प्रदेश नं. १ को सरकारले मेन्याङ्बो र बस्नेतलाई पदमुक्त गरेको छ ।

एमालेका तत्कालीन मुख्यमन्त्री भीम आचार्यले असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरू नियुक्त गरेका थिए ।

पर्शुराम बस्नेतलाई सदस्य सचिव बन्ने योग्यता नपुग्ने भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो ।

प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्न कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने कानूनी प्रावधान छ ।

सरकारले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशक पदमा विष्णुकुमार कार्कीलाई नियुक्त गरेको छ ।

सरकारले यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलाई सरकारको प्रवक्ता तोकेको छ ।

प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ ।

शेरधन राईको पालामा नियुक्त सुबोधराज प्याकुरेल मुख्यमन्त्री राईसँगै पदमुक्त भएपछि सो पद रिक्त थियो ।

प्रदेश सरकारले त्यसबेला सदस्य रहेका पाँचथरका डा. लक्समलाई उपाध्यक्ष नियुक्त गरेको छ ।

आयोगका सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का मोरङलाई नियुक्त गरेको छ ।

Published : Tuesday, 2022 April 5, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया