एमालेका सांसदबाट चेलीबेटी असुरक्षित छन् : कांग्रेस नेता थापा

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले एमालेका सांसदहरूबाट चेलीबेटीहरू असुरक्षित रहेको बताएका छन् ।

आइतबार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले चेलीबेटीहरू सेनाबाट भन्दा पनि सांसदबाट असुरक्षित रहेको बताए । उनले सांसदसँग चेलीबेटीहरूले होसियार रहनुपर्ने बताएका छन् । कांग्रेसका नेता थापाले हालै एमालेका एक जना सांसद बलात्कारको आरोपमा पक्राउ परेको समेत बताए ।

एमालेका सांसद मोहन बानियाँ बलत्कारको अभियोगमा पक्राउ परेका थिए । पछि उनलाई अदालतले धरौटीमा छाडेको थियो ।

‘यदि हाम्रा चेलीबेटीमाथि कसैले शंका गर्नुपर्छ भने त्यो हाम्रै सांसहरूबाट गर्नुपर्छ’, उनले भने, ‘सूदुरपश्चिममा एउटा एमाले सांसद हालसालै बलत्कार गरेको आरोपमा पक्राउ पर्नुभएको छ । यहीँ धनकुटामा पनि यस्ता उदाहरणहरू छन् । तर, लुकाएर राखिएका छन् ।’

‘सेनाहरू आएर हाम्रा चेलीबेटीहरूमाथि कुनै पनि हातपात हुँदैन’, उनले भने, ‘बरु यहीँकै सांसदहरूबाट हामी होसियार हुनुपर्छ ।’

कांग्रेसका नेता थापाले धनकुटा जिल्लाका सबै कम्युनिस्ट सांसदले काठमाडौं, विराटनगर, धरान र इटहरीमा घर बनाएको बताएका छन् ।

उनले धनकुटाबाट यसपालि एमालेलाई हटाउन नसकेको खण्डमा अझै १५/२० वर्ष पछाडि धकेलिनुपर्ने अवस्था आउने बताए ।

‘एमालेलाई चुनावमा जिताएर पठाए धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौं भने’, थापाले भनेका छन्, ‘मलाई अहिले अपसोँच लागेको छ । एमाले अहिले कुन दुलोमा लुकेर बसेका छन् ।’

धनकुटाको छिन्ताङ घटनालाई अतिरञ्जित गरी शहीद परिवारलाई ३० वर्षदेखि एमालेले बन्धक बनाएको थापाले उल्लेख गरेका छन् ।

‘म सोध्न चाहन्छु माननीयज्यूहरूलाई । उहाँहरूले वर्षको सात करोड रुपियाँ विकासको कार्यक्रमको लागि पाउनुहुन्छ’, उनले भने, ‘आजसम्म ३५ करोड रुपियाँ यो ठाउँबाट लिइसक्नु भएको छ । त्यो पैसाले के–के कार्यक्रम दिनुभयो धनकुटाका जनतालाई ? के–के विकास गर्नु भयो ?’

धनकुटाका कम्युनिस्ट सांसदहरूलाई चालीस प्रतिशत कमिशन खाने भनेर आरोप लाग्ने गरेको उनले बताएका छन् । धनकुटाका सातवटा पालिकामा ४०÷५० करोड भ्रष्टाचार भएको उनले बताएका छन् ।

कोभिडको महामारीमा सूर्यबहादुर थापा ट्रष्टबाट हेलिकोप्टरमा स्वास्थ्य सामग्री लिएर धनकुटा आउँदा सांसदले हेलिकोप्टर आउन नदिएको उनले बताएका छन् ।

‘हेलिकोप्टर रोकियो, मलाई आउन दिएनन् र उनीहरूले सुनिल हिरो हुन्छ भने । मलाई हीरो हुनु छैन’, उनले भने, ‘धनकुटाका जनताप्रति मेरो खबरदारी छ । मेरो ज्यान जोखिम छ । लाज लाग्नपर्ने यिनीहरूलाई । हामीले लुटेरा सांसद पठाएछौं ।’

Published : Sunday, 2022 April 3, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया