कांग्रेस सभापति थापाद्वारा ओलीले १ सय अर्ब भारतमा लुकाएको खुलासा, ३ रोपनी जग्गा पनि खाइदिए

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिजोको पाराले कांग्रेस चलाउन खोज्यौँ भने कांग्रेस चल्न नसक्ने बताएका छन् ।

भक्तपुरमा शनिबार क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै सभापति थापाले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आफैबाट सुरुवात गर्नुपर्ने बताए ।

‘एउटा खुँडा र खुकुरी ल्याएर आउने र घाँटी काट्ने कांग्रेस त्यो पाराको कांग्रेस होइन’, उनले भने, ‘कांग्रेस मुकाबिला गर्छ, सम्पूर्ण कुरामा डटेर अगाडि बढ्छ । तर, यसरी छरिएर बसेपछि, मर्यादाभित्र अनुशासित बनेस बस्न सकेनौँ भने कसरी मुकाबिला गर्न सकिन्छ ?’

भक्तपुरमा पार्टीलाई जिताउन साथीहरूले चिन्ता लिएको बुझेको बताएका थापाले चिन्तालाई सोँचमा बदल्नुपर्ने बताए ।
उनले भने, ‘चिन्ता मात्रै गरेर केही हुनेवाला छैन । टोल–टोलमा समिति बनाएर सबैलाई भारी दिएका छौं । कांग्रेस जिताउने जिम्मेवारी हामी सबैको हो ।’

‘कसैले कहिँ ठेक्कापट्टाको पैसाले कांग्रेसलाई ठेगान लगाउँछु भन्ने सोँचेका छन् भने त्यस्ता ठेकेदार र जग्गा दलाललाई दुर्लभ थापाले ठेगान लगाउँछ, होसियार’, एमालेका नेता महेश बस्नेततर्फ संकेत गर्दै थापाले चेतावनी दिएका छन्, ‘हामी सबैसँग समान व्यवहार गर्न चाहन्छौँ ।’

‘अहिलेसम्म बाटो बनाउलान् । जति लुटे पनि लुटे होलान् । एउटा घडेरी लुट्यो यहिँ अगाडि । पसल थियो तपाईहरू गएर खानु भएको थियो होला ? अहिले रातारात धन्दा के रे राजनीति ! पोलिटब्युरो सदस्य, पूर्वमन्त्री ! युवा संघका मतियार ! विशेषण के–के हो के–के ? श्री ५ माहाराजधिराज विरविक्रम शाहदेव ! विशेषण । त्यस्तै विशेषण हो । भएका मान्छेको केही उद्योग धन्दा छैन । रातारात अर्बपति बनेर अहिले हामीलाई चुनौती दिइरहेका छन्’, सभापति थापाले भनेका छन् ।

एमालेका नेता महेश बस्नेतको नाम नलिएर उनीतर्फ संकेत गर्दै ठेक्कापट्टा र जग्गा दलाली गरेर अर्बौं कमाएको सभापति थापाले बताएका छन् । उनले त्यो पैसा कहाँबाट आयो भनेर खोजविन हुनुपर्ने बताए ।

‘हाम्रा नेताहरूलाई चुनौती दिइरहेका छन् । हाम्रा नेता रामेश्वर ढुंगेललाई स्मरण गर्न चाहेँ । दशौं रोपनी जग्गा सिध्याएर राजनीति गर्नुभएको छ’, थापाले भने, ‘मलाई त्यो पनि थाहा छ । भरखर अगाडि चुनदेवीमा तीन रोपनी जग्गा किन्ने माननीय पनि चिन्छु, म । र, कसले जग्गा मिलाइदियो त्यो पनि थाहा छ मलाई । चुनदेवीमा आनाको ५० लाखको दरले हिसाब गर्नुस् । त्यो सम्पत्ति कहाँबाट आयो ? सुनेको छु एक सय अर्ब भारतमा केपी ओली र एमालेले लगेर लुकाइ रहेको छ । त्यो पैसा पाँच सय र हजारको नोटलाई नेपालमा चलाउनको लागि चलखेल हुँदैछ ।’

उनले भने, ‘यहाँ राजा महाराजाको उदय भएको छ । तीनलाई ठेगान लगाउँछौँ ।’

सभापति थापाले विगतमा आफूबाट पनि कमीकमजोरी भएको भन्दै त्यसलाई सुधार गरेर जाने बताएका छन् । उनले नेता कार्यकर्तालाई पनि विगतका कमीकमजोरी सच्याएर आउन आग्रह गरेका छन् ।

सभापति थापाले कांग्रेसका कार्यकर्तासँग मूल्य, मान्यता र सिद्धान्त रहेको बताए । उनले गठबन्धन गरेर जाने बताउँदै अहिले पनि कांग्रेसको पछाडि दलहरू रहेको बताए ।

मेडिकल माफिया दुर्गा प्रसाइँले भक्तपुरको तरकारी बजारमा झापाबाट बसका बस मान्छे भाडामा ल्याएर ताली बजाउन लगाएको सभापति थापाले एमालेलाई आरोप लगाए ।

Published : Sunday, 2022 April 3, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया