मोहन बस्नेतले अग्नि सापकोटालाई उनकै क्षेत्रमा नाङ्ग्याए, माओवादीले चित खाए

जुगल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले सधैं झुठ बोलेर जनतालाई भ्रममा पारेको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले कम्युनिस्टले सधैँ जनतालाई धोका दिएर कांग्रेसलाई काम गर्न नदिएको बताए ।

‘अग्निप्रसाद सापकोटाले एमसीसी पेश गर्नुप¥यो भने म आत्महत्या गर्छु भनेको हो कि होइन ? उसले आत्महत्या गर्छु भनेको थियो । उसले अब आत्महत्या कहाँ गएर गर्छ । अग्निलाई सोध्नु होला’, नेता बस्नेतले प्रश्न गरेका छन् ।

‘यो जुगलका मानिसले सधैँभरि कम्युनिस्टलाई जिताएर के भयो ? सिन्धुपाल्चोकको जुगल गाउँपालिका नेपालको कर्णाली भयो’, उनले भने, ‘सुगम गाउँ बनाउनको लागि एकपल्ट हामीले वडादेखि प्रतिनिधि सभासम्म हामीले जित्नुपर्छ । तपाईहरूले कांग्रेसलाई भोट हाल्नु प¥या ।’

उनले भने, ‘यो गाउँपालिका नेपाल अधिराज्यभरिको धनी गाउँपालिका हो । जुगल गाउँपालिकामा १३ वटा हाइड्रोपावर छ ।’

‘जुगल गाउँपालिकामा खर्बौं–खर्बभन्दा धेरै पैसा छ यो गाउँपालिकामा । जुगल गाउँपालिकाका जनतालाई सधैँभरि भोकमारी । दशैंमा एक पाथी चामल पनि गाह्रो छ’, उनले भने, ‘जुगल गाउँपालिकामा कांग्रेसलाई जिताउनुस्, हजारौँ मानिसलाई रोजगारी हुन सक्ने अवस्था छ । त्यो काम कसरी हुन्छ भन्ने कुरा मलाई थाहा छ, कांग्रेसलाई थाहा छ, हामीलाई थाहा छ ।’

नेता बस्नेतले भनेका छन्, ‘कांग्रेसले दुई सय बाढीपीडितको घर बनाउँछु भन्दा कम्युनिस्टले बनाउन दिएनन् । कांग्रेसले काम गुर्छभन्दा कम्युनिस्टलाई के को टाउको दुखाई ? उनीहरूले पनि बनाएनन् । हामीलाई पनि बनाउन दिएनन् ।’

नेता बस्नेतले भनेका छन्, ‘गठबन्धन गरौं भनेर हाम्रो सभापतिलाई माओवादी र एकीकृत समाजवादीको फोन आइरहेको छ ।’

‘उनीहरू बलियो भएका बेला हाम्रो गोलीगाँठा खुस्काकै हो । मारेकै हो । काटेकै हो । सम्पत्ति लुटेकै हो’, उनले भने, ‘उनीहरू बलियो भएको भए हामीसँग आउने थिएनन् ।’

उनले भने, ‘कांग्रेसले जितेन भने एमालेले चुनाव जित्छ । तानाशाह एमालेले ल्याउँछ । केपी ओलीको हातमा शासन सत्ता नजाओस् भन्नको लागि कांग्रेस तयार हुनुपर्छ । कांग्रेसले जित्नुपर्छ । कम्युनिस्टका कारण हामीले सत्ता पाएका छौँ ।’

नेता बस्नेतले कम्युनिस्टहरू एक नम्बरको भ्रष्ट भएको बताएका छन् । उनले भने, ‘११ रुपियाँको सर्जिकल मास्कलाई कम्युनिस्टले ११० रुपियाँमा किनेर कमिशन खाएका छन् ।’

कार्यक्रममा सिन्धुपाल्चोक कांग्रेसका सभापति जंगबहादुर लामासहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 April 3, 12:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया