मेडिकल माफियाले ओलीलाई समेत झुक्काए

भक्तपुर । माओवादी केन्द्रमा रहेर अकुत सम्पत्ति कमाएका ‘मेडिकल माफिया’ दुर्गा प्रसाइँले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई झुठ बोलेर चकित तुल्याइदिएका छन् ।

भक्तपुरमा बुधबार २२ हजार माओवादी कार्यकर्ता प्रवेश गराउने भनेर ओलीलाई झुक्काएर बोलाएको आरोप एमालेकै कार्यकर्ताहरूले लगाएका छन् । एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएपछि चर्चित बनेका प्रसाइँ माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गरेपछि ओलीलाई ‘बाजे’ भन्दै आएका प्रसाइँले भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ मा आफ्नो तरकारी बजार उद्घाटनमा माओवादीका २२ हजार कार्यकर्ता एमालेमा प्रवेश गराएको भनेर दिउँसै रात पारेपछि ओली चकित परेको एमाले भक्तपुरका कार्यकर्ताले कानेखुसी गरेका छन् ।

कार्यक्रममा मुस्किलले १ हजार मानिसको उपस्थिति रहेको थियो । १ हजार मानिस उपस्थिति रहेको कार्यक्रममा २२ हजार माओवादीका कार्यकर्ता एमालेमा प्रवेश गरेको भनेर हदैसम्मको झुठको खेती गरेका छन् ।

एमालेका अध्यक्ष ओलीले समेत १ हजार मानिस उपस्थित रहेको कार्यक्रममा २२ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको भनेर झुठ बोलेपछि एमालेकै कार्यकर्ताहरू लाजले लठ्ठै परेका छन् ।

‘आजै २२ हजार प्रवेश गर्दै हुनुहुन्छ, यसले देखाउँछ एमाले कुन ठाउँमा छ’, ओलीले भनेका छन् ।

२२ हजार प्रवेश गर्ने भनिएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न जिल्लाबाट ४ वटा बसमा ल्याइएका करिब २ सय मानिसलाई मात्र पार्टी प्रवेश गराएका थिए ।

उनीहरूलाई पार्टी प्रवेशको व्यवस्था माओवादीबाट भोगेर एमाले प्रवेश गरेका भगौडा दुर्गा प्रसाइँले मिलाएका थिए ।

बी एण्ड सी अस्पताल झापाका मालिक प्रसाइँलाई मेडिकल माफिया भन्ने गरिएको छ ।

चाकढी गर्न प्रसाइँले ३ वर्षदेखि संचालित तरकारी बजारलाई ओलीमार्फत पुनः उद्घाटन गराएका छन् । यो तरकारी बजार ओलीसहित तीन पटक उद्घाटन भइसकेको छ । करीव ३० रोपनीमा फैलिएको तरकारी बजारमा २२ हजार मानिस कसरी अटाए ? प्रसाइँ र ओलीलाई नै थाहा होला ।

झापामा सांसदको टिकट पाउनका लागि आफ्नो प्रभाव देखाउन प्रसाइँले भक्तपुरमा झुठको खेती गरेपछि ओली पनि चकित परेका छन् ।

ओलीले प्रसाइँलाई एमालेको केन्द्रीय सदस्य बनाइदिएका छन् । ओलीको भजन गाउँदा–गाउँद प्रसाइँको दिन जाने गरेको छ ।

प्रसाइँबिरुद्ध केही समय अगाडि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मानहानीको मुद्दा समेत दर्ता भएको थियो ।

मध्यपुर थिमीको निकोसेरामा बस्दै आएका प्रसाइँले त्यस मुद्दामा भने राजनीतिक दबाबका कारण सफाई पाएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्बाङ्ग, भक्तपुरका सांसद एवं पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेत, जिल्ला इञ्चार्ज सोमप्रसाद मिश्रको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 March 31, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया