सभापति देउवाको मनको कुरा गगनले बुझेपछि मिल्यो कुरा, बालकोटमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धन गर्ने निर्णय गरेको छ ।

मंगलबार ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले तालमेल गर्न सक्ने नीति निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापाद्वारा निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावहरूलाई सर्वसम्मतले पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

शेखर कोइराला समूहले चुनावी गठबन्धन र तालमेलको विरोध गरिरहेका बेला उनकै समूहबाट महामन्त्रीमा निर्वाचित थापाले बैठकमा प्रस्ताव गरिएको चुनावी गठबन्धनसहितका प्रस्तावहरू पारित भएको छ ।

स्थानीय तहमा चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि एमाले र बालकोटमा बसेका अध्यक्ष खड्गप्रसाद ओलीलाई सबैभन्दा ठूलो तनाब भएको छ ।

उप–सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गरेको छ ।

मंगलबार ललितपुरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिअनुसार खड्काको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिइएको छ । समितिलाई सभापतिले आवश्यक परामर्श गरी पूर्णता प्रदान गर्नेछन् ।

केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरिएको छ । परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्ने जनाइएको छ ।

‘संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धीको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भूमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भूमिका, संयमित र समन्वयकारी राजनैतिक व्यवहार तथा नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भूमिकाका कारण नेपाली कांग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीले संचालन गरेको स्थानीय तह निर्वाचन केन्द्रीत ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेको छ’, कांग्रेसले भनेको छ ।

‘यो परिस्थितिमा अझै थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न नेपाली कांग्रेस सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपील गर्दछ’, कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ६९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २३(५) बमोजिम प्रदेश सभाका सदस्य एवं प्रदेश मन्त्री परिषदका सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको बीस प्रतिशत रकम नियम २३(६)(क) बमोजिम केन्द्रमा बुझाउनु पर्ने व्यवस्था रहेकोमा, २०७९ वैशाख १ गतेदेखि उक्त रकम प्रदेश सभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्यसमितिको खातामा जम्मा हुने गरी पठाउनेछ’, कांग्रेसले भनेको छ ।

‘२०७८ चैत्र मसान्तसम्मको केन्द्रमा पठाउन बाँकी रहेको त्यस्तो रकम सम्बन्धित प्रदेश सभा संसदीय दललाई यही चैत मसान्तभित्र अनिवार्य केन्द्रमा पठाउन निर्देशन गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५(४)(२) र (३) बमोजिम प्रत्येक नयाँ क्रियाशील सदस्यले क्रियाशील सदस्यता शुल्क वापत बुझाउनु पर्ने रकम रु. ३०० (तीन सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. ४० (चालीस) र प्रत्येक क्रियाशील सदस्यले क्रियाशील सदस्यता नवीकरण वापत बुझाउनु पर्ने नवीकरण शुल्क रु. २०० (दुई सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. १० (दश) को दरले पार्टीको चौधौं महाधिवेशनमा प्रदेश कार्यसमितिको क्षेत्रभित्र कायम रहेका नयाँ क्रियाशील सदस्य र नवीकरण गरेका क्रियाशील सदस्यको संख्या बमोजिम हुने नयाँ सदस्यता शुल्क र नवीकरण शुल्क वापतको जम्मा रकम सम्बन्धित प्रदेश कार्यसमितिलाई केन्द्रबाट पठाउने’, विज्ञप्तिमा उल्लेख छ ।

‘कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको छ’, कांग्रेसले भनेको छ ।

Published : Tuesday, 2022 March 29, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया