चीनमा श्रेष्ठ र अष्ट्रेलियामा माधवका बहिनीज्वाइँ राजदूत बनाउन प्रस्ताव

काठमाडौं । माओवादी केन्द्रले चीनका लागि नेपाली राजदूतमा शिक्षक विष्णुपुकार श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)ले अष्ट्रेलियाको राजदूतमा पूर्वसह–सचिव कैलाश पोखरेललाई प्रस्ताव गरेको छ ।

श्रेष्ठ शिक्षण पेशाबाट राजनीतिमा छिरेका कुटनैतिक अनुभव नभएका नेता हुन् । पोखरेल नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई प्रस्ताव गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चीन जस्तो ठूलो छिमेकी मुलुकको राजदूतमा कुटनैतिक अनुभव भएको व्यक्तिलाई सिफारिस गर्न आग्रह गरेका छन् ।

माओवादीलाई चीनका लागि नेपाली राजदूतको भाग परेपछि श्रेष्ठको नाम प्रधानमन्त्री देउवालाई पठाएको छ । श्रेष्ठ माओवादी केन्द्रको निर्वाचन आयोगको प्रमुख रहेका छन् ।

अध्यक्ष नेपालले अष्ट्रेलियाको राजदूतमा आफ्ना बहिनीज्वाइँ पर्ने पोखरेलको नाम प्रधानमन्त्री देउवालाई दिएका छन् । पोखरेलप्रति प्रधानमन्त्री देउवा नकारात्मक छैनन् ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत बनाएर पठाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीन, दक्षिण अफ्रिका, जापान, बहराइन, कतार, बंगलादेश र मलेशियामा राजदूत खाली छन् ।

स्पेन, इजरायल, अस्ट्रेलिया, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा पनि राजदूत खाली छ ।

Published : Monday, 2022 March 28, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया