एमालेको गढमा कांग्रेसको प्यानलकै शानदार जित, विष्णु पौडेलहरू चकित

बुटवल । बुटवल उप–महानगरको वडा नं. ११ को ‘प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था’को निर्वाचनमा नेपाली कांग्रेस निकटको प्यानल नै निर्वाचित भएको छ ।

वडा नं. ११ लाई एमालेले आफ्नो गढका रुपमा दाबी गर्दै आएको थियो । यो वडामा १६ हजार बढी मतदाता रहेका छन् ।

बुटवलको स्थानीयदेखि प्रतिनिधिसभा निर्वाचनलाई ११ नं. वडाको जनमतले प्रभावित गर्दै आएको छ । अधिकांश परिवार सुकुम्बासी र अव्यवस्थित बसोबासी हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर मल्लको प्यानल विजयी भएको छ । मल्लले एमाले उम्मेदवार बीरबहादुर कुँवरको प्यानललाई पराजित गरेका हुन् ।

आइतबार राति सम्पन्न मतगणनामा ९ मत बदर भएको थियो ।

करीब १५ सय घरधुरी सदस्य रहेको सहकारीको चुनावमा १०३२ मत खसेको थियो ।

कांग्रेसका मल्लले ५१४ मत ल्याएर विजयी भएका छन् । एमालेका कुँवरले ४७१ मत प्राप्त गरेर पराजित भएका छन् ।

अध्यक्षमा निर्वाचित मल्ल दुई वर्षअघि एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । उनी एमालेका पूर्व नगर उपाध्यक्ष भएका थिए ।

उपाध्यक्षमा दुबै प्यानलका उम्मेदवारले समान ४८२ मत ल्याए । सचिवमा मल्ल प्यानलकै गोपाल केसी ४८३ मतसहित विजयी हुँदा एमालेका घनश्याम पाण्डेले ४७८ मत पाएका छन् ।

कोषाध्यक्षमा मल्ल प्यानलका नारायण सारु ४९९ मतसहित विजयी हुँदा एमालेका कुलबहादुर रानाले ४६९ मत पाए ।

९ जना कार्यसमिति सदस्य र लेखा समिति संयोजक र सदस्यसहित तीन जना पनि मल्ल प्यानलकै उम्मेदवारहरू विजयी भएका निर्वाचन समितिका प्रमुख अधिवक्ता महेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

स्थानीय निर्वाचन नजिकिंदै गरेको बेला सामाजिक संघसंस्थाको चुनावलाई प्रमुख दलले प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।

आउँदो स्थानीय चुनावमा मल्ल बुटवल–११ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका बलियो दावेदार हुन् ।

रुपन्देहीको बुटवल उप–महानगरपालिका एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला निर्वाचन क्षेत्रमा पर्छ । ११ नं. वडामा कांग्रेसले जित हासिल गरेपछि पौडेलसहितका एमालेका नेताहरू चकित परेका छन् ।

Published : Monday, 2022 March 28, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया