बानियाँद्वारा जिल्ला सभापतिहरूको अधिकार कटौतीको प्रस्ताव, बस्नेतद्वारा विरोध

काठमाडौं । टिकट वितरणमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको अधिकार कटौतीको प्रस्ताव आएपछि खैलाबैला भएको छ ।

शुक्रबार ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले पालिकाको टिकट वितरणमा जिल्ला सभापतिहरूले प्रदेश सभापतिसँग सल्लाह गरेर मात्रै दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रदेश सभापतिहरूले निर्वाचनलाई केन्द्रित गरेर धारणा राखेका थिए । सात प्रदेशका सभापतिहरूमध्ये एक जना सभापति अनुपस्थित थिए । ६ जना सभापति उपस्थिति रहेका थिए ।

बागमती कांग्रेसका सभापति बानियाँले मात्रै जिल्ला सभापतिहरूले स्थानीय तहको टिकट वितरण गर्दा प्रदेश सभापतिसँग परामर्श र सहमति लिएर वितरण गर्नुपर्ने प्रावधान राख्न माग गरेका थिए ।

सभापति बानियाँको सो प्रस्तावको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विरोध जनाएका छन् ।

नेता बस्नेतले जिल्ला सभापतिहरूको अधिकार कटौती गर्न नपाइने धारणा बैठकमा राखेको स्रोतले जनाएको छ ।

‘पार्टीको विधानले नै वडाको टिकट क्षेत्रले दिने, गाउँपालिकाको टिकट जिल्लाले दिने भन्ने व्यवस्था गरेको छ । विधानको व्यवस्था काट्न पाइँदैन’, बस्नेतलाई उदृत गर्दै स्रोतले भन्यो, ‘जिल्ला सभापतिको अधिकार कटौती हुने गरेर आएका प्रस्तावलाई मान्न सकिँदैन ।’

बस्नेतले टिकटको अधिकार कटौतीका विषयमा ७७ वटा जिल्लाका सभापतिहरूको भेला राखेर सोध्नुपर्ने धारणा राखेका थिए ।

नेता बस्नेतको सो अभिव्यक्तिको बैठकमा बोल्न अधिकांश केन्द्रीय सदस्यहरूले समर्थन गरेको बुझिएको छ ।

यसैबीच, केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरू कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राखेका छन् ।

प्रदेश सभापतिहरू उद्धव थापा (प्रदेश नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), ईन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश) र ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमितिको बैठक चैत १३ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Friday, 2022 March 25, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया