मन्दिर भत्काएको माओवादीद्वारा चर्चको भवन शिलान्यास, लाखौँ रुपियाँ पनि दियो

मुसीकोट । कथित जनयुद्धका बेला मन्दिरहरू भत्काएर हिन्दुलाई गाईको मासु जबरजस्ती खुवाउन बाध्य बनाएको माओवादीका एक नेता चर्चको शिलान्यास गरेर उनीहरूको उदेश्य के थियो भनेर प्रष्ट भएको छ ।

अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्माले रुकुम पश्चिमको मुसीकोटमा चर्चको भवनको शिलान्यास गरेका छन् ।

शर्माले सोमबार बिहान मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गरेका हुन् ।

नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसीकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण शुरु गरेको जानकारी दिएका छन् ।

माओवादी र अर्थमन्त्री शर्माको विशेष पहलमा कर्णाली प्रदेश सरकारले चर्च बनाउन ३० लाख रुपियाँ दिएको छ ।

माओवादीका नेता एवम् अर्थमन्त्री शर्माद्वारा शिलान्यास गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रुपियाँ छ ।

अर्थमन्त्री शर्माले चर्चको भवन बनाउन अपुग हुने बजेट अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिएका छन् ।

चर्चको भवन बनाउन बाँकी बजेट व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ल्याउने तयारी भएको छ । चर्चको भवन तीन तलाको हुनेछ ।

माओवादीले कथित जनयुद्धका बेला हिन्दुको टुप्पी काट्ने, जनइ फादिदिने, किरिया बसेकालाई थुतेर हत्या गर्ने, मूर्तिमा पिसाव गर्न लगाउने, मन्दिर भत्काइदिने, गाईको मासु खान लगाउने जस्ता हर्कत गरेको थियो ।

अहिले आएर माओवादीको उदेश्य के रहेछ भन्ने कुरा स्पष्ट भएको छ ।

माओवादीका नेता कृष्णबहादुर महराले पनि विगतमा क्रिश्चियनका पादरीसँग आशीर्वाद लिएको तस्वीर भाइरल बनेको थियो ।

Published : Tuesday, 2022 March 22, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया