शान्ति सुरक्षामा खटिएकी उर्मिलाको हत्या भएपछि फायर भए गृहमन्त्री, छानविन गरेर अपराधीलाई ठेगान लगाइने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका– ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको जाँचबुझ गरिने बताएका छन् ।

मन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरेर दोषीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘घटनाको छानबिन हुन्छ । दोषी देखिएकालाई कडाभन्दा कडा कारबाही हुनेछ ।’

फागूपूर्णिमाका दिन चैत ४ गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र–छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् ।

श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनाप्रति गृहमन्त्री खाणले गम्भीर चिन्ता जनाएका छन् ।

‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ’, खाणले चेतावनी शैलीमा भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’

उनले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

खाणले कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

गृहमन्त्री खाणले मोरङका प्रही प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीलाई टेलिफोन गरी कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

घटनामा २९ प्रहरी घाइते भएका थिए । तीमध्य अहिलेसम्म पाँच प्रहरी कोशी अस्पतालमा उपचाररत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् ।

Published : Monday, 2022 March 21, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया