कांग्रेस र देउवाविरुद्ध जथाभावी बोल्ने ओलीलाई डा.महतले दिए दनक, कम्युनिस्टको हावा फुस्कियो

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको नेतृत्वको तत्कालीन सरकार राज्य सञ्चालनमा असफल भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अनिच्छा राख्दाराख्दै मुलुकलाई निकास दिन नेतृत्व लिनुपरेको बताएका छन् ।

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आइतबार उद्घाटन गर्दै डा.महतले एमालेका अध्यक्ष ओली दुईतिहाइ बहुमत पाउँदा पनि मुलुक चलाउन असफल भएको बताए । जनताले दिएको दुईतिहाइको बहुमतको अपमान गरेर ओलीले कम्युनिस्टको अनुदारवादी चरित्र देखाएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार ओलीले एमालेको चुनाव चिन्हमा मतदान गरेर पूण्य कमाउन दिएको उपदेशको जवाफमा कांग्रेस प्रवक्ता डा.महतले सो अभिव्यक्ति दिएका हुन् ।

‘एमालेका अध्यक्ष ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको छ’, उनले भने, ‘राजनीति गर्ने मान्छेहरू देशको समृद्धि र जनताको सुःख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधै गम्भीर हुन्छन ।’

‘उहाँ (ओली)ले हास्य कलाकारको जस्तो हसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईको पार्टी असफल भयो’, डा.महतले भने, ‘५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नु भएन ।’

डा.महतले एमालेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँँदा प्राप्त गरेको झण्डै दुईतिहाईको समर्थन जोगाएर राख्न नसकेको बताए ।

‘आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसक्नु भएको र दुईतिहाईको समर्थन कायम रहदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गर्नुभएकोले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न नेपाली कांग्रेस अग्रसर हुनुपरेको हो’, उनले भनेका छन् ।

उनले अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको बताए ।

‘देश र जनताको हितमा काम गर्न नसक्ने र मुलुकलाई नेतृत्व दिन नसक्ने असफल पार्टीलाई फेरि ल्याउने भनेको विकास चाहिएन भन्ने अर्थ लाग्छ’, प्रवक्ता डा.महतले भने, ‘विकास भएन भने हामी गरिबै रहन्छौं ।’

‘पिछडिएको अवस्थामा रहन्छौं । त्यसैले आउने चुनावमा तीनै तहमा नेपाली कांग्रेसका प्रतिनिधिलाई मत दिनुहोस्’, उनले भनेका छन् ।

कांग्रेसले नै मुलुकमा रहेका विभिन्न जातजातिका भाषा, भेषभूषा, संस्कृति, परम्परा र धर्मको संरक्षण गर्ने पनि उनले बताए ।

उनले नेपाली कांग्रेस फोस्रा आश्वासन दिन नजान्ने र जे गर्न सकिन्छ, त्यही भन्ने भएकोले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीप्रति आकर्षित हुँदा जनतालाई धोका भएको बताए ।

उनले ओलीले नेतृत्व गरेको पार्टीबाट अलग भएर बनेका दलहरूले आग्रह गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मुलुकमा भ्रष्टाचार हुन छोडेको, कारोना महामारीबाट जनतालाई जोगाउन पर्याप्त खोपको बन्दोबस्त भएको, बन्दाबन्दी र निषेधाज्ञा हटेर जनजीवन सामान्य भएको बताए ।

एमसीसीको उदाहरण दिर्दै कम्युनिष्टहरूले कसरी भ्रमको खेती गर्दछन् भन्ने ब्याख्या गरेका छन् ।

‘अमेरिकाले हाम्रो मागअनुसार नेपालको गरिबी हटाउन मद्दत गर्ने भनेर सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणमा ६० अर्बभन्दा बढी नेपाली रुपियाँ अनुदान दिएको र त्यो लिनेसम्बन्धमा संझौता भएको छ’, उनले भनेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वसांसद राजिवविक्रम शाह, गाउँपालिकाका अध्यक्ष सन्तोष केसीलगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 March 20, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया