कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने हुन्छ, नेताहरू मिल्यौं भने जित्छौँ : मोहन बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेताहरूमा एकता हुने हो भने कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् ।

सिन्धुपाल्चोक कांग्रेसको प्रथम बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता बस्नेतले एकतामा सबैभन्दा ठूलो शक्ति रहेको बताए ।

‘कांग्रेसले एक्लै चुनाव जित्छ । कांग्रेसले एक्लैले चुनाव लड्नुपर्ने हुन्छ’, उनले भने, ‘कांग्रेसमा राम्रा र हाम्रा । हाम्रा भनेको अनुशासित । हाम्रा भनेको हामीलाई कहिल्यै नछोड्ने । हाम्रो परिभाषा यो हो । राम्रो काम गर्ने चुनाव जित्ने ।’

नेता बस्नेतले स्थानीय तहमा आवश्यक्ताका आधारमा गठबन्धन भए पनि प्रतिनिधि सभा र प्रदेशमा गठबन्धन हुने सम्भावना निकै कम रहेको बताए । उनले विकास लामालाई प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।

‘स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा होस् । टिकटका लागि दौडनुपर्ने काम छैन । एकदुई ठाउँको कुरा मैले सुनिसके’, उनले भने, ‘मैले बुझेसम्म टिकटका लागि अहिले बेला भएको छैन । जसले निर्णय गर्छ त्यसका विरुद्ध हामी एकढिक्का हुनुपर्छ ।’

नेता बस्नेतले पार्टीका उम्मेदवारहरूलाई जिताउन लाग्नुपर्ने बताए । उनले सबै उम्मेदवार जित्नका लागि सबैले सबैलाई सहयोग गर्नुपर्ने बताए ।

‘घर–घर जाऔँ, कांग्रेस जितऔँ’ अभियानलाई सफल बनाउन जनताको घर–घरमा पुगेर समस्याको जानकारी लिनुपर्ने उनले बताए । उनले भने, ‘बिजुली पुगेको छैन भने बिजुली लैजाने । खानेपानीको समस्या छ भने खानेपानीको योजना पार्ने हो’, उनले भने, ‘कांग्रेसले बाढीपहिरो र प्राकृतिक प्रकोपमा धेरै सहयोग गरेको छ ।’

नेता बस्नेतले एमसीसीका विषयमा कम्युनिस्टले भ्रम छरेको भन्दै त्यसबारेमा जनतालाई वास्तविक कुरा भन्नुपर्ने बताएका छन् ।

निर्वाचनका बेला सिन्धुपाल्चोक कांग्रेसको जिल्ला कार्यसमितिको बैठक दुई–दुई हप्तामा बसेर निर्णय गर्नुपर्ने उनले बताएका छन् ।

टोल कार्यसमिति बनाएर सूचना संकलन गर्नुपर्ने नेता बस्नेतले बताएका छन् । सूचना ठीक भएन भने कुनै पनि युद्ध जित्न नसकिने उनले बताए । कांग्रेसलाई जिताउन सहि सूचनामा ध्यान दिनुपर्ने बताए ।

नेता बस्नेतले कांग्रेसमा टिम बनाउन नहुने बताए । उनले भने, ‘टिमको कारणले कांग्रेस, एमाले, माओवादी सिद्धियो ।’

जनताको समस्या पहिचान गरेर काम गर्नुपर्ने बताएका बस्नेतले विकासका लागि पैसा कसरी ल्याउनुपर्छ आफूलाई जानकारी रहेको बताए ।

नेता बस्नेतले अनुशासन समिति बनाउन सभापति जंगबहादुर लामा र कार्यसमितिसँग आग्रह गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बस्नेत, केन्द्रीय प्रतिनिधि गंगा अवाले, सभापति जंगबहादुर लामा, निवर्तमान सभापति विकास लामा, उप–सभापति दोर्जे लामा ‘हाउडे’, महासमिति सदस्य राजु गोर्खाली, सभापतिमा पराजित वंशलाल तामाङलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, सिन्धुपाल्चोक कांग्रेसले कोषाध्यक्षमा रविन्द्र प्रधानलाई मनोनीत गरेको छ ।

Published : Friday, 2022 March 18, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया