विप्लवको शक्तिशाली प्रस्तावमा आफ्नैले धोखा दिए, महरामार्फत वार्ता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थानीय तहको चुनावमा भाग लिए विषयमा मतभेद देखिएको छ ।

काठमाडौंमा दुई दिन बसेको नेकपाको सचिवालय बैठकमा स्थानीय चुनावमा भाग लिने चन्दको प्रस्ताव अल्पमतमा परेपछि विवाद बाहिर आएको हो । विवादपछि नेकपा फुटतिर अगाडि बढेको भनेर चर्चा शुरु भएको छ ।

महासचिव चन्दले सचिवालयमा औपचारिक रुपमै चुनावमा सहभागी हुने प्रस्ताव राखेका थिए ।

सचिवालयमा पाँच सदस्यीय छन् । चुनावमा सहभागी हुने प्रस्तावको पक्षमा चन्दसँग प्रवक्ता खड्कबहादुर बिश्वकर्मा देखिएका छन् ।

चुनावको विपक्षमा हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला देखिएका छन् । सन्तोष बुढा मगर चुनावको पक्ष र विपक्ष दुवैतिर खुलेका छैनन् ।

महासचिव चन्दको प्रस्ताव अल्पमतमा परेपछि गृहजिल्ला कपिलवस्तुतिर लागेका छन् । सन्तोष बुढालाई फकाउने प्रयासमा चन्द छन् ।

चन्दले पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेको भन्दै चुनावमा भाग लिनुपर्ने प्रस्ताव गरेका छन् ।

महासचिव चन्दले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’सँग पार्टी एकता गरेर चुनावमा जान प्रस्ताव गरे पनि सहमति हुन सकेको छैन । वैद्यले स्थानीय तहको चुनाव बहिस्कार गर्ने तयारीमा छन् ।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण र चुनावी गठबन्धनका विषयमा नेकपाका महासचिव चन्दसँग वार्ता गर्न दूत पठाएका छन् ।

दाहालले कृष्णबहादुर महरालाई पठाएर कपिलवस्तुमा चन्दसँग वार्ता गराएको उच्च स्रोतले जनाएको छ । दाहालको आग्रहअनुसार महराले चन्दसँग सकिन्छ भने पार्टी एकीकरण गर्ने नसकिए मिलेर चुनावमा जान प्रस्ताव गरेका छन् ।

महरासँगको वार्ता सकारात्मक रहेको चन्दले आफू निकटका नेताहरूलाई जानकारी गराएको बुझिएको छ ।

माओवादीका अध्यक्ष दाहालले महासचिव चन्दसँग महरामार्फत वार्ता अगाडि बढाएर नेपाली कांग्रेस र एमालेसँग चुनावी तालमेल हुन सकेन भने त्यसको बिकल्प तयार गरेको संकेत दिएका छन् ।

Published : Friday, 2022 March 18, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया