अमेरिकी सेना आयो भने अग्रपंक्तिमा लड्न तयार छु : गृहमन्त्री खाण

कपिलवस्तु । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले एमसीसी परियोजनामार्फत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खाणले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताए ।

उनले कुनै पनि देशको सेना आए आफू अग्रपंक्तिमा बसेर लड्न तयार रहेको बताए ।

गृहमन्त्री खाणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट पारेका छन् ।

उनले जलस्रोतको धनी देश नेपालमा ठूला र साना गरी ६ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए ।

‘वर्षायाममा धेरै विद्युत् उत्पादन भइ खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनुपरेको छ’, उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।’

उनले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताए ।

सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै खाणले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताए ।

पिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारबाट शुरु भएको १२औँ कपिलवस्तु महोत्सवको गृहमन्त्री खाँणले उद्घाटन गरेका छन् ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मूल नाराका साथ महोत्सव चैत ३ देखि चैत १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्नेछ ।

खाणले सरकार उद्योगी व्यवसायीको साथमा रहेको बताएका छन् । उद्योगी व्यवसायीसंग सहकार्य गर्दै सरकार अघि बढ्न प्रतिवद्ध रहेको गृहमन्त्री खाणले बताए ।

उनले उद्योगी व्यवसायीहरूलाई दुःख दिने काम नगर्न सरकारी कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘उद्योगी व्यवसायीहरूलाई दुःख दिने काम नगर्नु, उहाँलाई सहयोग गर्दै अघि बढनु म सबै नेपाल सरकारका कर्मचारीलाई यहीबाट निर्देशन दिन्छु’, उनले भने ।

गृहमन्त्री खाणले जय किसान एग्रो मार्ट एण्ड मेसिनरीको अवलोकन गरेका थिए ।

महोत्सव स्थलको स्टलमा राखिएको मेसिनेरीमा उपलब्ध कृषिका उपजहरूको बारेमा गृहमन्त्री खाणले चासो व्यक्त गरेका थिए ।

मेसिनेरीका संचालक टिआर पाण्डेले गृहमन्त्री खाणलाई कृषिका उपजहरूको बारेमा जानकारी दिँदै कृषि उपकरणहरू चलाएर नै देखाएका थिए ।

Published : Thursday, 2022 March 17, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया