देउवाद्वारा शीर्ष नेताहरूसँग भेट, पौडेल पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भेट गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले दाहाल र नेपालसँग स्थानीय तहको निर्वाचनमा तालमेलका विषयमा छलफल गरेका हुन् । सो छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।

कांग्रेसभित्र चुनावी गठबन्धनका विषयमा विवाद छ । शेखर कोइराला समूहले माओवादी र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्न नहुने अडान राख्दै आएको छ । प्रधानमन्त्री देउवा भने गठबन्धनको पक्षमा छन् ।

तीन शीर्ष नेताहरूका बीच भएको छलफलमा दाहाल र नेपालले चुनावी गठबन्धनमा कांग्रेसबाट एउटै स्वर आउनुपर्ने माग राखेको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले दाहाल र नेपालको मागप्रति सकारात्मक भए पनि पार्टीभित्र यो विषयमा कुरा राख्ने आश्वासन दिएका छन् ।

Published : Thursday, 2022 March 17, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया