दाङ कांग्रेसमा देखियो अदभूत एकता, कम्युनिस्टलाई धुलो चटाउने घोषणा

तुलसीपुर । नेपाली कांग्रेसका नेताहरूले अबका सबै निर्वाचनमा कम्युनिस्टहरूलाई पराजित गर्नुपर्ने चुनौती र अवसर रहेको बताएका छन् ।

दाङ कांग्रेसको क्षेत्र नं. ३ ले बुधबार तुलसीपुरमा आयोजना गरेको ‘घर–घर जाऔं, कांग्रेसलाई जिताऔं’ अभियानअन्तर्गतको कार्यक्रमलाई सम्बोधन गरेका नेताहरूलाई कम्युनिस्टलाई हराउने मौका आएको बताएको कांग्रेसका युवा नेता वीरबहादुर खत्रीले जानकारी दिए ।

उनीहरूले कम्युनिस्टले झुठ बोलेर दाङका तीन वटै निर्वाचन क्षेत्र जितेको बताए ।

केन्द्रीय सदस्य चन्द्र केसीले कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सबैमा जित्नुपर्ने बताए । उनले कांग्रेसलाई जिताउन तेरो र मेरो नभनेर मिलेर अगाडि बढ्नु पर्ने बताए ।

नेता केसीले कांग्रेसका नेताहरूभित्र एकता भयो भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए ।

एमसीसीका विषयमा कम्युनिस्ट र केही सानो तत्वले जनतालाई भ्रममा पारेर अलमल बनाइरहेको बताएका छन् । उनले एमसीसीले मुलुकको आर्थिक अवस्था सुधार गर्ने र विकास हुने बताए ।

केन्द्रीय सदस्य गेहेन्द्र गिरीले दाङमा कांग्रेसलाई हराउन सपना नदेख्न कम्युनिस्टहरूलाई चेतावनी दिए । उनले अबको निर्वाचनमा कांग्रेसभित्र एकता गरेर अगाडि बढ्ने जनाए ।

कांग्रेसको लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले कांग्रेसलाई कम्युनिस्टको असक्षमताका कारण अवसर आएको बताए । उनले दाङ कांग्रेसभित्र पछिल्लो समय देखिएको एकताले पार्टीका सबै उम्मेदवारहरूलाई जिताउन सहयोग हुने बताए ।

उप–सभापति खनालले कम्युनिस्टको भ्रष्टाचार, अराजकता र बेथितिबाट जनता दिक्क भएको बताए । जनताले कम्युनिस्टलाई झण्डै दुईतिहाइ बहुमत दिएको भन्दै उनले सत्ता चलाउन नसक्दा साढे तीन वर्षमा कांग्रेसलाई सत्ता दिनुपरेको बताए ।

दाङ कांग्रेसका सभापति शंकर डाँगीले कांग्रेसको जित सुनिश्चित रहेको बताए । महाधिवेशनपछि कांग्रेसमा अदभूत एकता देखिएको बताए ।

कार्यक्रममा नेताहरू घनश्याम रेग्मी, शंकर गिरीलगायतले बोलेका थिए । दाङ कांग्रेसले अभियानलाई निकै उत्साहका साथ अगाडि बढाएको छ ।

दाङमा प्रतिनिधि सभाका तीन वटा क्षेत्र छन् । सबैमा कम्युनिस्टले जितेका छन् । अबको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारहरूलाई जिताएर कम्युनिस्टलाई धुलो चटाउने तयारी छ ।

Published : Wednesday, 2022 March 16, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया