दुर्गम हिमाली जिल्ला हुम्लामा कांग्रेसको शानदार कार्यक्रम, चौधरीद्वारा अभियानको उद्घाटन

हुम्ला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले पार्टीका उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा जिताउन अनुरोध गरेका छन् ।

हुम्लामा कांग्रेसले बुधबार आयोजना गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गर्दै नेता चौधरीले कांग्रेसले जित्यो भने गाउँमा विकास हुने बताए । कम्युनिस्टहरू सधैँ जनतालाई झुठ बोलेर भोट पाएर सत्तामा गए पनि झगडा गरेर पार्टी विभाजन गरेको बताए ।

‘कम्युनिस्ट भनेका झुठ कुराको भ्रम फैलाएर जनतालाई ढाँटेर भोट लिएर धोका दिँदै आएका छन्’, उनले भने, ‘अहिले पनि एमसीसीका विषयमा गलत भ्रम फिजाएर जनतालाई धोका दिइरहेका छन् ।’

नेता चौधरीले अमेरिकाले अनुदानमा दिएको रकमले विजुली भारतमा लगेर बिक्री गर्ने प्रशारण लाइन र सडक मर्मतको काम हुने बताए । उनले एमसीसीले देशको राष्ट्रियतामाथि कुनै पनि खतरा नरहेको भन्दै बरु देशको विकास हुने बताए ।

उनले कांग्रेसका उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन अनुरोध गरे । गाउँ र टोलमा पुगेर जनतालाई कांग्रेसले देश विकास र जनताको पक्षमा गरेका कामको जानकारी गराउन चौधरीले आग्रह गरेका छन् ।

हुम्लाका पार्टी सभापति मोहनविक्रम सिंहले कांग्रेसले मात्रै हुम्लाको विकास गर्ने बताए । उनले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सबैमा कांग्रेस जित हुनुपर्ने बताएका छन् ।

पार्टीका कार्यकर्ता र नेताहरूले जनतालाई गाउँमा पुगेर कांग्रेसको अभियान उदेश्यबारे केन्द्रीय प्रतिनिधि चौधरीको निर्देशनमा काम गर्नुपर्ने बताए ।

कांग्रेसले हुम्लामा अभियान सफल बनाउन विभिन्न निर्णय गरेको छ । नेताहरूलाई जिम्मेवारी दिने कार्य समेत गरेको छ ।

Published : Wednesday, 2022 March 16, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया