मकवानपुर कांग्रेसमा कम्युनिस्ट–राप्रपाका २ सय कार्यकर्ता प्रवेश, सभापति बानियाँद्वारा स्वागत

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनताको घर–घरमा गएर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन निर्देशन दिएका छन् ।

मंगलबार नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका– ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले जनताको घर–घरमा पुगेर एमसीसी विकास विरोधी होइन भनेर जानकारी गराउन आग्रह गरे । उनले एमसीसीमार्फत आएको अनुदानको पैसा नेपालको जलविद्युत र सडक मर्मतमा मात्रै खर्च हुने बताए ।

बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका सभापति बानियाँले एमसीसीका विषयमा कम्युनिस्टका केही व्यक्तिले जनतामा भ्रम छरेको भन्दै चिन्ता जनाएका छन् । उनले एमसीसीका लागि अमेरिकामा निवेदन दिने र संसदमा अनुमोदनका लागि प्रस्ताव दर्ता गर्ने कम्युनिस्टहरू नै रहेको बताएका छन् ।

कम्युनिष्टहरूले एमसीसीको बारेमा भ्रम छरेको भन्दै उनले देशमा व्याप्त रहेको गरिबी, अशिक्षा, भोक र रोगको अन्त्यका लागि एमसीसी अनुमादोन गरेको कुरा जनतालाई बुझाउन आग्रह गरेका छन् ।

जनताको घर–घरमा जाँदा कांग्रेसले आजसम्म गरेका राम्रा काम र भोलिका दिनमा गर्ने कामका विषयमा जानकारी लिएर जान नेता कार्यकर्तालाई बानियाँले अग्रह गरेका छन् ।

उनले कम्युनिष्टहरूको जस्तो झुठ्ठा आश्वसन र भ्रम नभई जनताका वास्तविक पिर र मर्का समाधान गर्ने अभियान लिएर जानुपर्ने बताएका छन् ।

कांग्रेसका वडा सभापति बिन्दु लामाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् सभापति बानियाँले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

यसैबीच, पुष्पनाथ नेपालको अध्यक्षतामा टोल समिति समेत गठन भएको छ ।

समितिको उपाध्यक्षमा अग्नि सुवेदी, सचिव नवीन रेग्मी, कोषाध्यक्ष माधव रेग्मी तथा सदस्यमा बुद्ध लामा, दीपेश अर्याल र अजय ढुंगाना रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुली, संगीता सिग्देल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ‘ख’का सभापति राजेश बानियाँ, सचिव दोर्जे लामा स्याङ्तान, प्रदेश सचिव गोकर्ण सुवेदी, नगरसभापति उत्सव इटेनी, तरुण दल ९ नम्बर वडाका अध्यक्ष हिस्की राना मगर लगायतको उपस्थिति रहेको थियो ।

उता, बकैया गाउँपालिकामा एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश सभा ‘क’का सभापति सुशान्त श्रेष्ठको सभापतित्व एवम् बागमती कांग्रेसका सभापति बानियाँको प्रमुख आतिथ्यतामा सोमबार बकैया गाउँपालिको हात्तिसुँडेमा भएको संयुक्त पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ४७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति बानियाँले कांग्रेस भीडको पछाडि हिड्ने नभइ नियन्त्रण गरेर राम्रो र सही ठाउँमा अन्य दलहरूसमेत साथमा लिएर हिँड्ने पार्टी रहेको बताएका छन् ।

सोमबार बिहान कांग्रेस बागमती प्रदेश कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा एमालेबाट साविक बुढीचौरको वडाध्यक्षबाट निर्वाचित जुलाफसिं रुम्बासहित ३ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई सभापति बानियाँले सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबहाक सभापति विष्णु लामिछाने, जिल्ला उप–सभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, महिला नेतृ रीता खनाल, सभापतिद्वय दामोदर खनाल र लोक मुक्तान, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, महिला संघ बागमती गाउँपालिका सचिव अप्सरा लामालगायतले मन्तव्य राखेका थिए ।

Published : Wednesday, 2022 March 16, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया