कांग्रेसलाई अपमान गर्ने माओवादी समर्थक डीआईजी बढुवामा परे, खुमलटारमा लड्डु बोकेर गए

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस भएको छ ।

चैत १ गते बसेको बढुवा समितिको बैठकले तीन जना डीआईजी बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।

पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा कार्यरत छन् । सिंह केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा कार्यरत छन् । धानुक कार्य एवम् अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय, नक्सालमा कार्यरत छन् ।

पन्त र सिंहलाई नेपाली कांग्रेसको समर्थन तथा धानुकलाई माओवादी केन्द्रको समर्थनमा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस गरेको चर्चा छ ।

एआईजीमा बढुवा हुन लागेका पन्त एक महिनापछि उमेर हदका कारण अनिर्वाय अवकासमा जानेछन् ।

धानुकलाई एआईजी बनाउन माओवादी केन्द्रको ठूलो दवाव थियो । अर्थमन्त्री जनार्दन शर्माले डीआईजी धानुकलाई बोकेका थिए । अर्थमन्त्री शर्मा र धानुकको निकै हिमचिम छ ।

धानुक लुम्बिनी प्रदेशको प्रहरी प्रमुख हुँदा नेपाली कांग्रेसका महिला सांसदहरूलाई अपमान गरेको आरोप छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र चाकडी गर्न धानुकले ठूलै हर्कत गरेका थिए ।

एआईजीमा बढुवाका लागि चर्चामा रहेका डीआईजी उत्तम सुवेदी छुटेका छन् । उनको निकै चर्चा भए पनि अन्तिम समयमा छुटेका छन् ।

अर्का डीआईजी बसन्त लामा पनि छुटेका छन् । लामा प्रहरीभित्र इमान्दार मानिन्छन् । धानुकलाई भन्दा पनि सक्षम अरु डीआईजीहरू छुटेको प्रहरी हेडक्वाटरभित्र चर्चा छ ।

अर्थमन्त्री शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भनेर धानुकलाई बढुवामा पारेका हुन् । प्रचण्ड र शर्मालाई लड्डु खुवाउन धानुक खुमलटार पुगेको चर्चा छ ।

Published : Tuesday, 2022 March 15, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया