नयाँ ‘मेडिकल माफिया’ कार्कीको आतंकले मन्त्री, सचिव र कर्मचारीहरू डरले ‘छुलछुल’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा ‘मेडिकल माफिया’को आरोप खेप्दै आएका नारायण कार्कीको चंगुलमा फसेको भन्दै मन्त्रालयमा खैलाबैला भएको छ ।

उनै कार्कीको सिफारिसमा मन्त्री खतिवडाले स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीको सरुवा गर्ने, गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधिको खरिद गर्न निर्देशन दिने गरेको उच्च स्रोतको भनाइ छ ।

मेडिकल सामग्री र औषधिको सप्लायर्सको काम गरिरहेका नारायण कार्कीको सिफारिसमा खतिवडाले अवधि नपुगेका कर्मचारीको सरुवा र गुणस्तरहीन औषधि खरिदमा दबाब दिने गरेको खुलेको कर्मचारीहरूको गुनासो छ ।

स्वास्थ्यमन्त्री खतिवडाले मातहतका कार्यालयलाई ‘नारायण कार्कीले भने अनुरुपको काम गर्नु’, भनेर सिधै निर्देशन दिने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका एकजना सह–सचिवले भने, ‘मन्त्रीज्यूबाट सिधै नारायण कार्कीले भने अनुरुप गर्नु भन्ने निर्देशन आउँछ । कार्कीले ल्याउने काम कुनै कानून अनुरुपका हुँदैनन् । एकपटक कानून अनुरुप भएन भन्यो भने फेरि मन्त्रीज्यूकोमा पुगेर टेलिफोन गराइहाल्छन्, गरिदिनु परिहाल्छ । ज्यादै नै समस्या भइरहेको छ ।’

कार्कीले केन्द्रमा मन्त्री खतिवडाको आडमा स्वास्थ्य मन्त्रालय र संघ अन्तर्गतका कार्यालयमा कर्मचारीहरूको सरुवा गरी आफू अनुकूलको स्थानमा पुर्‍याउने, गुणस्तरविहीन स्वास्थ्य सामग्री र औषधि खरिद गर्न लगाउने, नगरेमा सरुवा गरिदिने धम्की दिने गर्ने गरेका छन् ।

गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधि बेचेर नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने र आफूले मोटो कमिसन लिने उनको दिनचर्या नै बनेको छ ।

त्यसमा मन्त्री खतिवडाले साथ दिइरहेका मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘धेरै कमिसन आउने तर, गुणस्तरविहीन औषधि र स्वास्थ्य सामग्री किन्न दबाब एकपटक होइन, पटक–पटक आउँछ । मानेनौँ भने मन्त्रीज्यूबाट नारायण कार्कीले भनेको किन नमानेको हो भन्दै कार्कीले भनेअनुरुप गर्नु भन्ने निर्देशनसहितको टेलिफोन आउँछ । पछि गुणस्तरहीन औषधि खरिद गरेको भनेर दोष हामीमाथि आउँछ तनाव छ’, केन्द्र सरकारअन्तर्गतको एक अस्पतालका प्रशासकले गुनासो गरेका छन् ।

कार्कीले नेपाली कांग्रेस बागमती प्रदेशका नेताहरूको नाम लिएर स्वास्थ्य मन्त्रालय, विभाग र अस्पतालहरूमा धम्की दिने गरेको आरोप छ ।

बागमती प्रदेश सरकारमा कांग्रेसका निमा लामा स्वास्थ्य मन्त्री छन् । कार्कीले कांग्रेसको धम्की दिएर मन्त्री लामालाई समेत हैरान बनाएका छन् ।

‘हामीले त मन्त्री लामाको भन्दै बढी मेडिकल सप्लायर्स नारायण कार्कीको निर्देशन मान्नुपर्छ’, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘मानिएन भने नारायण कार्कीले कहाँ–कहाँबाट टेलिफोन गराएर निकै दुःख दिएका छन् ।’

कार्कीले आफू निकटका कर्मचारीलाई आफ्नो स्वार्थ परिपूर्ति हुने स्थानमा पुर्‍याउने, गुणस्तरभन्दा पनि धेरै कमिसन कुन औषधि र सामग्रीमा आउँछ, त्यही खरिद गर्न लगाउने गरिरहेका छन् ।

कार्कीको यो धन्दा केन्द्रमा मात्रै होइन सातै प्रदेशमा चलिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलसमेत ‘मेडिकल माफिया’ कार्कीका अगाडि मुखदर्शक बनेर बसिरहेका छन् ।

कार्कीले जे भन्यो त्यही स्वास्थ्य सचिव डा.पोखरेलले मान्ने गरेपछि आफूहरूलाई समस्या परिरहेको कर्मचारीहरूको गुनासो छ ।

यतिसम्मकी कार्कीले कुनै पनि प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिवले आफूले भनेको काम मानेनन् भने जसरी भए पनि सरुवा गराउँछन् ।

सरुवा गराउन नसक्ने भए धम्की भए पनि दिएर आउने स्वास्थ्यका कर्मचारीहरू बताउँछन् ।

त्यतिमात्र कहाँ हो र कर्मचारीको सरुवा गरेको चिठी मन्त्रालय वा स्वास्थ्य संस्थाको च्यानलबाट होइन, कहिलेकाही कार्कीको हातबाट सम्बन्धित व्यक्तिकहाँ पुग्छ ।

Published : Tuesday, 2022 March 15, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया