यी दुई मन्त्री ओलीलाई भेट्न बालकोट पुगेपछि समाजवादीभित्र खैलाबैला, माफिया र दलालसँग कनेक्सन

काठमाडौं । नेकप (एकीकृत समाजवादी)बाट मन्त्री बनेका दुई जना बालकोटमा पुगेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गरेपछि पार्टीभित्र खैलाबैला भएको छ ।

समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पार्टीभित्र तरंग ल्याइदिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओलीसँग बालकोटमै पुगेर एमालेमा फर्किने गरी छलफलमा गरेको स्रोतको भनाइ छ ।

हुन त विगतमा पनि रिपब्लिका दैनिकले यी दुई मन्त्रीले एमालेका अध्यक्ष ओलीसँग निरन्तर भेट गर्ने गरेको तथा सरकारका कामकारबाहीबारे जानकारी गराउने गरेको समाचार लेख्दै आएको थियो ।

मन्त्रीद्वय श्रेष्ठ र आले एमालेमै फर्किने गरी सूचना पाएपछि समाजवादीको भ्रातृसंगठन अनेरास्ववियूका अध्यक्ष पराजुलीले त्यसलाई सार्वजनिक रुपमै उठाएका छन् ।

अध्यक्ष पराजुलीले लेखेका छन्, ‘मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुर÷कसिलो बनाउनु पर्दछ ।’

‘तर यहाँ मन्त्री स्वयम् जनता र कार्यकर्तासंग भन्दा बढि सम्बन्ध दलाल माफियासंग कसिलो बनाउन लालायित देखिन्छन्’, उनले भनेका छन् ।

‘मन्त्री भएपछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे–हम्मे छ’, उनले भनेका छन् ।

‘मन्त्री भनेको भुँडी ठूलो बनाउनु र हल्लाउनु होइन जनताको प्यारो बन्नु/हुनु हो’, उनले भने, ‘मन्त्रीहरूको यस्तो व्यवहारबाट हामीले सोंचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ’, पराजुलीले भनेका छन् ।

‘अर्को गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राति–राति अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने ?’, अध्यक्ष पराजुलीको प्रश्न छ, ‘‘यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समीक्षा गर्नु जरुरी छ ।’

‘नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी ) पार्टीमा लागेका आम नेता कार्यकर्ताको अहिलेको भावलाई पार्टीबाट सरकारमा सहभागी मन्त्रीको माथि उल्लेख गरेका (जनता कार्यकर्ताभन्दा माफिया दलाल प्यारो देख्ने सेटिङ्ग गर्ने) गतिविधिले प्रतिनिधित्व गर्न सक्छ त भन्ने प्रश्न खडा भएको छ’, उनले भनेका छन् ।

Published : Monday, 2022 March 14, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया