एमालेले देख्यो भक्तपुर कांग्रेसको अदभूत एकतासहितको शक्ति, कम्युनिस्टलाई निर्मूल पार्ने जितजंगको चेतावनी

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतले मुलुकको समृद्धि र विकासका लागि कम्युनिस्टलाई निर्मूल पार्नुपर्ने बताएका छन् ।

आइतबार भक्तपुरमा नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जितऔँ’ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले मुलुकबाट कम्युनिस्टलाई निर्मूल पार्नुपर्ने बताएका हुन् ।

‘कम्युनिस्टहरू विकास विरोधी हुन् । कम्युनिस्टले जनता धनी हुन्, देशको विकास होस् भनेर कहिल्यै चिन्ता गर्दैनन्’, उनले भने, ‘कम्युनिस्ट भनेका भ्रष्ट हुन् । उनीहरूले कसरी अबैध रुपमा कमाउ भनेर मात्रै सोँच्ने गर्छन् ।’

एमालेले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि सरकार चलाउन नसकेको बताएका बस्नेतले भने, ‘उनीहरू असफल भएपछि कांग्रेसले मुलुकको नेतृत्व लिएको हो । कांग्रेस सरकारमा आउनेवित्तिकै कोभिड नियन्त्रण र खोपमा सुधार भयो । भ्रष्टाचार नियन्त्रणतिर गयो ।’

आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्ने र जनताले कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा भोट हालेर कम्युनिस्टलाई सबक सिकाउन नेता बस्नेतले अपील गरेका छन् ।

उनले एमसीसीका विषयमा कम्युनिस्टले भ्रम छरेको बताए । ‘एमसीसीले नेपालको जलविद्युतमा सहयोग गर्छ । प्रसारण लाइन बनाएर नेपालको विजुली भारतमा लगेर बेच्ने हो’, उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले दिएको पैसाले नेपालको विकास हुन्छ । कुनै विदेशी सेना आउँदैन ।’

भक्तपुर कांग्रेसका पार्टी सभापति दुर्लभ थापाले १४औँ महाधिवेशनपछि कांग्रेस झन् एकताबद्ध भएर आएको बताए । ‘हामीबीच विगतमा के–के मनमुटाव वा असन्तुष्टि थियो भने पनि त्यसलाई भुलेका छौं’, उनले भने, ‘हामीभित्र रहेको कमीकमजोरीलाई आफैले सच्याएर जानुपर्छ । कांग्रेसलाई बलियो बनाउनुपर्छ । कांग्रेसलाई जिताउनुपर्छ ।’

सभापति थालो भने, ‘दुर्लभ थापाभित्र कमीकमजोरी छभने पनि सुधार गर्नुपर्छ । हामी एक भयौँ भने मात्रै कांग्रेसले जित्न सक्छ । नत्र हामी फेरि पनि पराजित हुने छौँ ।’

सभापति थापाले पार्टीमा लागेका नेता कार्यकर्ता सबैले अवसर पाउने बताए । उनले भने, ‘समावेशी र समानुपातिक रुपमा सबैले कांग्रेसभित्र अवसर पाउनुपर्छ । कसैलाई पनि काखापाखा हुनेछैन । सबैले अबसर पाउनेछन् ।’

कांग्रेसका नेता अष्ट कबेले पनि कांग्रेसलाई जिताउन आफूबाट हुने सबै रहने प्रतिवद्धता जनाए । ‘कांग्रेस बलियो भने भने मात्रै हामी बलियो हुन्छौँ’, उनले भने, ‘कांग्रेसलाई चुनावमा जिताउन मबाट हुने सबै सहयोग रहन्छ ।’

नेता कबेले भने, ‘पहिलो पटक सभापतिमा पराजित हुँदा म आफै हारेको जस्तो लागेको थियोे । यसपटक म हारे पनि कांग्रेसले जितेको छ । पार्टीलाई एकताबद्ध बनाएर जानेछु ।’

कार्यक्रममा नेताहरू गणेशमान चक्रधर, महेश श्रेष्ठ, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापालगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

पार्टी कार्यालयबाट कार्यक्रमस्थलसम्म धिमेबाजासहित कांग्रेसका नेता कार्यकर्ताले नारावाजी गर्दै पुगेका थिए ।

भक्तपुरको बालकोटमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निवास छ । एमालेले भक्तपुरमा कांग्रेसको शक्ति देखेको छ ।

Published : Sunday, 2022 March 13, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया