प्रधानमन्त्री देउवाले यी जनप्रतिनिधिहरूको रहर पूरा गरिदिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भन्ने नै रहर हो भने स्थानीय तहलाई सरकार भनिदिने र बनाउने बताएका छन् ।

काठमाडौंमा आइतबार नेपाल नगरपालिका संघको साधारण सभालाई सम्बोधन गर्दै उनले त्यसो गर्नु ठूलो कुरा नभएको बताएका हुन् ।

देउवाले भने, ‘यहाँ केही कुरा उठेको छ, स्थानीय सरकार भन्ने कि स्थानीय तह भन्ने । नाममै रहर छ भने स्थानीय सरकार नै भनिदिउँला, केही छैन । काम गर्ने हो ।’

स्थानीय सरकार नै भनेर चित्त बुझ्ने हो भने आफूले सबै पार्टीसँग सहमति लिएर कहाँकहाँ संशोधन गर्नुपर्छ, के गर्नुपर्छ सबै मिलाएर सरकार बनाउन आपत्ति नभएको उनले बताएका छन् ।

‘महत्त्वपूर्ण कुरा डेलिभरीको हो, कामको हो । नगरपालिका जनताको प्रत्यक्ष सम्पर्कमा रहन्छ’, देउवाले भने, ‘प्रत्यक्ष सम्बन्ध भएको ठाउँ हो । जनताका कामहरू, दुःखहरू हटाउने काम गर्नुस् ।’

‘भोलिका दिनमा यो सरकार नै हुनसक्छ । तपाईंहरू काम गर्दै जानुस्’, उनले भने, ‘यो ठूलो कुरा होइन । तह र सरकारमा तह हटाइदिउँला केही छैन ।’

Published : Sunday, 2022 March 13, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया