उप–महानगरका एमाले मेयरका छोरालाई सीआईबीद्वारा काठमाडौंमा पक्राउ, बालकोटमा खैलाबैला

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दाङको तुलसीपुर उप–महानगरपालिका– ८ अश्वारका अनुप पाण्डेलाई काठमाडौंमा पक्राउ गरेको छ ।

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी ३० वर्षीय पाण्डेलाई शनिबार प्रहरीले पक्राउ गरेको सीआईबीका निर्देशक एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

ब्यूरोको महाराजगञ्ज मुख्यालयबाट खटिएको प्रहरीले पाण्डेलाई काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा बैंकिङ कसूर मुद्दा दर्ता भई उच्च अदालत तुलसीपुरबाट २०७८ फागुन २५ गते पक्राउ अनुमति जारी भएको थियो ।

ईनजिनियरिङ एण्ड ईन्फ्रा प्रोजेक्ट प्रालिबाट साईड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले पीडितको सवारी साधन प्रयोग गरी सवारी साधनको भाडा बापतको झुक्तानी गरेका थिएनन् ।

पाण्डेले १ करोड ४४ लाख १७ हजार ७ सय ७६ रूपियाँमध्ये सानिमा बैंकको प्रर्याप्त मौज्दात नभएको चेकमार्फत १ करोड ८ लाख ५७ हजार ७ सय ७६ रूपियाँ रकम भएको चेक दिई बैकिङ कसूर गरेको अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइनेछ ।

पक्राउ परेका पाण्डे एमालेका नेता एवम् तुलसीपुर उप–महानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन् ।

मेयर पाण्डे एमालेका अध्यक्ष खड्गप्रसाद ओली र महासचिव शंकर पोखरेल निकटका मानिन्छन् ।

एमाले सत्तामा हुँदा आफ्ना बुबा घनश्याम पाण्डेको पावर लगाएर बच्दै आएका ठेकेदार पाण्डेलाई सीआईबीले पक्राउ गरेर कानूनी दायरमा ल्याएको छ ।

Published : Saturday, 2022 March 12, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया