गाउँका कार्यकर्ताहरू चल्नु भएन भने हामी जति उफ्रिए पनि केही हुँदैन : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले गाउँका कार्यकर्ता र नेता चलायमान भएनन् भने पार्टी चल्न नसक्ने बताएका छन् ।

शुक्रबार नुवाकोट जिल्लाको क्षेत्र नं. १ ‘ख’मा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले पार्टीको महत्वपूर्ण व्यक्ति भनेको गाउँका कार्यकर्ताहरू रहेको बताए ।

‘जनताको नजिक वडा हुन्छ । टोल कार्यसमिति हुन्छ’, उनले भने, ‘हिजो कांग्रेसलाई मतदान नगर्नेहरूलाई पनि अब हामीलाई मतदान गर्न लगाउनुपर्छ ।’

‘हाम्रा विपक्षीहरू वडा, गाउँपालिकामा जुधेका होलान् । साधन र स्रोतको दुरुपयोग गरेका होलान् । बाँडेर खाएका होलान् । त्यसको लेखाजोखा गर्नुपर्छ’, उनले भने, ‘हामी प्रचार गर्न जान्दैनौँ । हामी काम मात्रै होइन जनतालाई त्यसबारे जानकारी गराउनुपर्छ ।’

‘यो अभियान भनेको स्थानीय तहको निर्वाचन जित्ने अभियान हो । सबै वडा र पालिका जित्ने अभियान हुनुपर्छ’, प्रवक्ता डा.महतले भने, ‘स्थानीय तह जित्यौँ भने प्रदेश र प्रतिनिधि सभामा जित्नबाट कसैले रोक्न सक्दैन ।’

उनले भने, ‘आम चुनाव जित्ने लक्ष्य हो । सत्तामा जाने हाम्रो लक्ष्य हो । तपाईहरू चल्नु भएन भने हामी जति उफ्रिए पनि केही हुँदैन । तपाईहरूका कारण कांग्रेस बलियो हुने हो ।’

प्रवक्ता डा.महतले भने, ‘कम्युनिस्टले दुईतिहाइ बहुमत पाउँदा पनि चलाउन सकेनन् । कांग्रेसले कोरोना व्यवस्थापन ग¥यो । ७० प्रतिशत जनतालाई खोप दिएपछि जनताले चलायमान भएका छन् । व्यवसाय गर्न पाए ।’

‘कम्युनिस्टको भ्रष्टाचारलाई हामीले रोक्यौं’, कांग्रेसका प्रवक्ता डा.महतले भनेका छन् । उनले कम्युनिस्टहरू सत्तामा बसेका बेला भ्रष्टाचार गरेको बताए ।

एमसीसीका विषयमा कम्युनिस्टले भ्रम छरेको उनले बताएका छन् । ‘अरुण तेस्रो रोके । यिनीहरूको झगडामा एमसीसीलाई राष्ट्रियताको भ्रम छरेर हुने–नहुने कुरा गरेर जनतालाई दिग्भ्रमित बनाइदिएका छन्’, उनले भने, ‘यस्तो अवस्थामा पनि कांग्रेसले एमसीसी सहि छ भनेको छ ।’

‘एमसीसी सैन्य सहयोगका लागि आएको होइन । सत्तामा बस्दा बजेट छुट्याउने । सत्ता बाहिर गएपछि राष्ट्रघात देख्ने’, उनले भनेका छन् ।

Published : Friday, 2022 March 11, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया