यस कारण एमसीसी गलत होइन, विकासका लागि प्रधानमन्त्रीको प्रयास जायज छ : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले एमसीसीका विषयमा सानो समूहले ठूलो नकारात्मक कुरा फैलाएको भन्दै चिन्ता जनाएका छन् ।

बिहीबार रिपब्लिका दैनिकसँग कुरा गर्दै नेता गुरुङले एमसीसीका विषयमा प्रचार गरिए जस्तो खराब नरहेको बताए । ‘एउटा सानो स्वार्थ समूहले एमसीसीका विषयमा ठूलो नकारात्मक प्रचार गरेको छ’, उनले भने, ‘नेपालमा उत्पादन भएको विजुलीलाई बिक्री गर्नका लागि प्रसारण लाइन र बाटो निर्माण गर्छुभन्दा एमसीसीको विरोध गर्नु हुँदैन थियो ।’

पूर्वमन्त्री गुरुङले भने, ‘संसारको धेरै जनसंख्या रहेको दुई देशको बीचमा हामी छौँ । हाम्रो स्रोत पानी हो । चीन र भारतले हाम्रो प्रशारण लाइनमा अनुदान दिएको छैन । अमेरिकाले राम्रो नियत राखेर हाम्रो प्रशारण लाइनमा अनुदान दिएको हो ।’

‘विकासका लागि हो । अरुले निकै भ्रम किन फैलाएको हो ? बुझ्न सकिएको छैन । यो चिन्ताको विषय हो’, उनले भने, ‘विगतमा कतार, साउदी अरेबियामा केही पनि थिएन । उनीहरूको जीवनस्तर नेपालको भन्दा कयौँ तल थियो । पछि उनीहरूको स्रोत भनेको पेट्रोलियम पदार्थ भयो ।’

‘पेट्रोलियम पदार्थ बेचेर उनीहरू कहाँदेखि कहाम्म पुगे ? पानी भनेको हाम्रो इनर्जी हो । बगेको पानी हाम्रो इनर्जी हो’, नेता गुरुङले भने, ‘यो पानीलाई इनर्जी बनाएर हाइड्रो पावर बिक्री गर्ने बाटो बनाइदिन्छुभन्दा अमेरिकाको किन विरोध भएको हो ? जथाभावी विरोध भएकोमा आश्चर्य लागेको छ ।’

उनले भने, ‘चीन विश्वको अर्थतन्त्रमा अगाडि जाँदैछ । भारत पनि अर्थतन्त्रमा ठूलो राष्ट्र बन्दैछ । चीन र भारतले हाम्रो हाइड्रोको प्रशारण लाइनमा सहयोग गरेका छैनन् ।’

‘हामी जाने भनेको हाइड्रोमा हो । बिजुलीलाई बचेर कमाउने हो । हाम्रो मार्केट भनेको भारत र बंगलादेश हो’, उनले भने, ‘कतार नेपालभन्दा निकै कमजोर आर्थिक अवस्थामा थियो । पेट्रोलियम पदार्थ बेचेर उनीहरू जीवनस्तर बढेको छ ।’

‘कतार, मलेसिया, साउदी अरेयिबा, दक्षिण कोरिया पनि शुरुमा निकै कमजोर अवस्थामा थिए । नेपाली युवाहरूलाई रोजगारी सिर्जना नेपालमा गर्नुपर्छ’, उनले भने, ‘युवाहरू अरब देशहरूमा ४२ डिग्रीको गर्मीमा काम गरिरहेका छन् । उनीहरूलाई नेपालमै रोजगारी सिर्जना गर्नुपर्छ । विकास गर्नुपर्छ । एमसीसीले रोजगारी र विकासको बाटो खोल्छ ।’

अमेरिकाले एमसीसीमार्फत दिएको रकम तत्कालका लागि सानो देखिए पनि निरन्तर सहयोग आउने उनले बताएका छन् ।

नेपालमा ८० हजार मेगावाटसम्म विजुली उत्पादन हुनेभन्दै कांग्रेस नेता गुरुङले भने, ‘हामीले ८० हजार मेगावाटको आधा ४० हजार मेगावाट मात्रै बिजुली निकाल्यौँ भने पनि नेपालको विकास हुन्छ ।’

प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको अनुदानमार्फत मुलुकमा विसका हुने र नेपाली जनताको आय बढ्ने देखेरै स्वार्थ समूहले विरोध गर्दागर्दै एमसीसीलाई संसदबाट अनुमोदन गराएको भन्दै नेता गुरुङले धन्यावाद दिएका छन् ।

एमालेले पनि एमसीसी खराब होइन भनेर बुझेको उनले बताए । ‘एमालेका अध्यक्ष केपी ओलीलाई एमसीसीको विषयमा राम्रोसँग थाहा छ’, उनले भने, ‘अमेरिकी अनुदानको रकम आउनेवित्तिकै नेपालमा विकास हुन्छ । नेपालको बिजुली भारतमा लगेर बिक्री गर्न पाइन्छ । भारतबाट बिदेशी मुद्रा भित्र्याउन पाइन्छ भन्ने कुरा ओलीलाई थाहा भएर एमसीसी अनुमोदनमा अप्रत्यक्ष रुपमा सहयोग गर्नुभएको छ ।’

कांग्रेसले ‘घर–घर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ भन्ने एक महिने अभियानलाई सफल बनाउन केन्द्रीय सदस्य गुरुङले अनुरोध गरेका छन् । ‘स्थानीय तहको निर्वाचन आइसक्यो । हामीले कांग्रेसको पक्षमा प्रचार गर्नुपर्छ’, उनले भने, ‘कांग्रेस र एमसीसीका विषयमा केही समूहले गलत प्रचार गरेका छन् । एमसीसी राम्रो हो । विकास आउँछ भनेर त्यसका विषयमा गाउँका कार्यकर्ता र जनतालाई बुझाउनुपर्छ ।’

Published : Thursday, 2022 March 10, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया