एमसीसीपछि अमेरिकाले फेरि ८१ अर्ब अनुदान दिने, डलरको खोलो बगाइदिने

काठमाडौं । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन नेपाल कम्प्याक्ट (एमसीसी)को ५० करोड डलर अनुदानको सम्झौता अनुमोदन भएको हप्तापछि नेपाललाई नियमित अमेरिकी सहायता जारी राख्न नयाँ पाँच वर्षे सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

अमेरिकाले नेपाललाई ६५ करोड ९० लाख डलर अर्थात करीव रू. ८१ अर्ब बराबरको अनुदानमा हस्ताक्षर गर्ने अन्तिम चरणमा पुगेको छ । सहज रुपमा काम अगाडि बढ्यो भने अबको दुई हप्तापछि नेपाल–अमेरिकाबीच नयाँ सहायतामा सम्झौता हुनेछ ।

प्रस्तावित सहायता अमेरिकी सरकारले युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) मार्फत सन् २०२१ जुलाईको मध्यसम्मको पाँच वर्षमा गरेको कुल वितरणभन्दा करीव १०० मिलियन डलर बढी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार अमेरिकाले यस अवधिमा आफ्नो नियमित सहायता च्यानलबाट ५६०.५३ मिलियन डलर निकासा गरेको थियो ।

गत आर्थिक वर्ष २०२०–२१ मा अमेरिकी सहायता एजेन्सीले १०५.९४ मिलियन डलर निकासा गरेको थियो ।

सन् २०१५ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तीव्रता दिन नेपालले गरेको प्रयासका बीच आर्थिक वर्ष २०१६–१७ मा १३ करोड ४० लाख अमेरिकी डलर विनियोजन भएको विकास सहयोग प्रतिवेदन २०१९–२० मा समावेश तथ्याङ्कले देखाएको छ ।

अमेरिकाले युएसएआईडीमार्फत् उपलब्ध गराउँदै आएको नियमित अमेरिकी सहायतासम्बन्धी अन्तिम सहायता सम्झौता गत वर्ष सेप्टेम्बरमा सकिएपछि नेपाल र अमेरिकाबीच नयाँ सम्झौताका लागि वार्ता भइरहेको छ ।

युएसएआईडीबाट आउने अमेरिकी अनुदानलाई नेपालको प्राथमिकताका क्षेत्रमा शिक्षा, स्वास्थ्य, आर्थिक विकास र वृद्धि, लोकतान्त्रिक संस्था र संरचना सुदृढीकरणमा थप पाँच वर्ष खर्च गरिनेछ ।

Published : Wednesday, 2022 March 9, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया