आनन्दको घमण्डले कांग्रेस मकवानपुरमा संस्थापनलाई क्षति

हेटौंडा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मकवानपुर जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको घमण्डले संस्थापन पक्षलाई क्षति पुगेको छ ।

जिल्ला अधिवेशनमा सभापतिका आकांक्षी पराजुलीले आफूबाहेक अरुको नाममा सहमति हुन नदिंदा संस्थापन पक्षलाई मकवानपुरमा क्षति पुगेको हो ।

जिल्ला अधिवेशनको बुधबार बिहान प्राप्त मत परिणामअनुसार पदाधिकारीमा दुई उप–सभापति, दुई सचिव र एक सह–सचिव संस्थापक इतरका जयराम लामिछाने समूहले जितेको छ ।

सह–सचिवमा संस्थापनबाट सभापति बुद्ध लामा पक्षका ताराचन्द्र बजगाइँ विजयी हुँदा पराजुली पक्ष शून्य भएको छ ।

अधिवेशनका क्रममा संस्थापन पक्षबाट कार्यवाहक जिल्ला सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा र निवर्तमान नगरसभापति आनन्दराम पराजुली आकांक्षी थिए ।

आफ्नो पक्षमा ३ जना आकांक्षी भएपछि पार्टीमा लामो त्याग भएका लामिछानेलाई सभापति र दुईलाई उप–सभापति बनाएर जाने प्रस्ताव प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अघि सारेका थिए ।

बानियाँको यो प्रस्ताव सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले समेत समर्थन गरेकी थिइन् । ३ जनामध्ये सभापतिका आकांक्षी लामिछाने जस्तो लामो त्याग भएका सादगी नेतालाई सभापति बनाउँदा उप–सभापति बन्न लामा सहमत भएका थिए ।

बानियाँ र उपाध्यायको सहमतिको प्रस्तावलाई लत्याउँदै आफू अघि बढिसकेको भन्दै निरन्तरता र नेतृत्वले बनाएको मर्यादाको मापदण्डलाई उल्लंघन गर्दै केही अपरिपक्व नेता भनाउँदाहरूको उक्साहटमा पराजुलीले आफू नै उम्मेदवार बन्ने अडान राखे ।

सहमति र संस्थापन पक्षको एकताका लागि लामाले आफूले अर्को अधिवेशनमा समेत सभापतिको उम्मेदवार नबनी पराजुलीलाई नै सहयोग प्रतिवद्धता जनाएर पराजुली र आफू उप–सभापति बन्ने प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए ।

शुरूदेखि नै ‘मेरो ब्याक गियर छैन’ भन्दै हिंडेका पराजुलीले पार्टी सह–महामन्त्री उपाध्याय र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्तावलाई अटेर गर्दै ‘चेन अफ कमाण्ड’ तोडेर उम्मेदवारी दिए । त्यसको परिणाम स्वरुप पराजुली आफू त पराजित भए नै आफ्नो पक्षमा लागेका सहयोगी र समर्थकको भविष्यलाई समेत अन्यौल बनाएको कांग्रेसजनको भनाई छ ।

अधिवेशनमा संस्थापक पक्षका बुद्ध लामा सबैभन्दा बढि मत ल्याउन सफल भए भने पराजुली संस्थापक इतरका जयराम लामिछाने भन्दा १४ मत मात्रै बढि ल्याएर दोस्रो भए ।

सहमति नजुटेपछि संस्थापन पक्षले पहिलो चरणमा जसको बढि मत आउँछ उसलाई सघाउने भद्र सहमति गराएको थियो । त्यो सहमति पनि पराजुलीले नमान्ने बताएपछि उनलाई पहिलो चरणमा सहयोग गरेका सह–महामन्त्री उपाध्याय र सभापति दामोदर खनालले साथ छोड्ने चेतावनी दिए । पहिलो चरणमा नै विष्णु लामिछानेको उम्मेदवारी भए सोँच्न सक्ने बताइसकेको संस्थापक इतर पक्षले समेत लामालाई सहयोग गर्ने देखेपछि गलेका पराजुलीले दोस्रो चरणमा बुद्ध लामालाई बाध्य भएर समर्थन गरेका थिए । त्यसपछि लामा जिल्ला सभापति निर्वाचित भए ।

‘सह–महामन्त्री उपाध्याय र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्ताव मानेको भए पराजुली उप–सभापति पनि हुनुहुन्थ्यो र उहाँको पछि लागेका सहयोगी र समर्थकहरूको पनि सुरक्षा हुन्थ्यो’, संस्थापन पक्षका एक नेताले भने, ‘केही वडाध्यक्ष र पार्टीका नेता भनाउँदाहरूले उहाँलाई उचालेर पछार्ने काम गरे, संस्थापन पक्षलाई पनि क्षति पुर्‍याए ।’

नगरसभापति हुँदादेखि नै पराजुलीलाई बानियाँले अघि बढाएका थिए । सहमतिका लागि बानियाँ र उपाध्यायले राखेको प्रस्तावलाई लत्याएर पराजुलीले दम्भ देखाउनु नै संस्थापन पक्षको हारको कारण भएको इमान्दार कांग्रेस कार्यकर्ताहरूको भनाई छ । हारपछि पराजुली पक्ष दोषारोपणमा उत्रिएको छभने लामा सबैलाई मिलाएर पार्टी अघि बढ्ने योजना तयार गर्न थालेका छन् ।

Published : Wednesday, 2022 March 2, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया