सर्लाही कांग्रेसमा ‘अक्टोपस’को उपद्रो, सभापतिमा सुरेन्द्र–लक्ष्मणबीच प्रतिस्पर्धा

मलंगवा । नेपाली कांग्रेस सर्लाहीको अधिवेशनमा सभापतिमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापति शेरबहादुर देउवाको समूहबाट सुरेन्द्रप्रसाद सिंहले उम्मेदवारी घोषणा गरेका छन् । शेखर कोइराला समूहबाट महाधिवेशनमा पराजित भएका अमरेशकुमार सिंह ‘अक्टोपस’ले लक्ष्मण रायलाई उम्मेदवार बनाएका छन् ।

शेखर कोइराला र अमरेशकुमार सिंह कांग्रेसभित्र अनुदारवादी नेताका रुपमा परिचित छन् । आफ्नो स्वार्थका लागि कांग्रेसलाई कमजोर बनाएर अगाडि बढ्ने नीति शेखर र अमरेशको रहेको भनेर कांग्रेसभित्र आलोचना हुने गरेको छ ।

सभापतिका दुई उम्मेदवार सुरेन्द्रप्रसाद र लक्ष्मणका विषयमा सर्लाही कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा बिभिन्न खालका अड्कलबाजी भइरहेका छन् ।

सुरेन्द्रप्रसाद युवा हुन् । उनी युवाहरूका बीच लोकप्रिय छन् । कांग्रेसका कार्यकर्तालाई आवश्यक पर्दा जे पनि गर्न तयार हुने सुरेन्द्र सर्लाही जिल्लाका लोकप्रिय नेता हुन् । कार्यकर्तालाई समस्या पर्दा सुरेन्द्र सबैभन्दा अग्रपंक्तिमा उभिएर सहयोग गर्छन् ।

लक्ष्मणलाई सांसद समेत रहेका नेता अमरेशकुमार सिंहको ‘गोटी’ भनेर चर्चा हुने गरेको छ । सर्लाहीमा कमजोर हुँदै गएका अमरेशले लक्ष्मणलाई सभापति बनाएर आफू अनुकूल गर्ने योजनामा छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका लक्ष्मणलाई ‘वृद्ध’ नेता भनेर चर्चा हुन थालेको छ ।

महाधिवेशन प्रतिनिधिमा पराजित भएका अमरेशले सर्लाही कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएका छन् । अमरेशको राजनीति सर्लाहीमा धरमराउँदै गएको छ । लक्ष्मणको काँधमा बन्दुक राखेर अमरेशले आफ्नो राजनीतिक रोटी सेकाउने तयारीमा अन्तिम अस्त्र उठाएका छन् ।

सर्लाही जिल्लाका कांग्रेसको हितका लागि सभापतिमा मतदात गर्दा सिंह र रायमध्ये कसलाई मतदान गर्ने भनेर ध्यान दिनुपर्ने आवाज उठेको छ ।

Published : Wednesday, 2022 March 2, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया